प्रतिमा दियाली,
सिन्धुली — नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल दुधौली नगर कार्य समितिको आयोजनामा तथा दुधौली नगरपालिका शिक्षा उप–शाखाको संयोजनमा नगरस्तरीय माध्यमिक विद्यालयबीचको एकदिवसीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा दुधौली नगरपालिकाका संस्थागत र सामुदायिक गरी २५ माध्यमिक विद्यालयमध्ये २१ विद्यालयका विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएका थिए।
प्रतियोगितामा सिन्धुली लिटिल फ्लावर इङ्ग्लिस बोर्डिङ स्कुल प्रथम स्थान हासिल गर्दै नगद रु १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सिन्धुली सनराइज इङ्ग्लिस बोर्डिङ स्कुल द्वितीय स्थानमा रही नगद रु १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्यो भने नवज्योति माध्यमिक विद्यालय, गिचियानी तृतीय स्थानमा रहँदै नगद रु ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।

प्रतियोगितामा सहभागिता जनाएका विद्यार्थीहरूलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो भने सहभागी शिक्षकहरूलाई प्रशंसा पत्र र मायाको चिनो दिइएको थियो।

कार्यक्रममा नेपाल तरुण दल दुधौली नगर समितिका सभापति लक्ष्मण कुमारको सभापतित्व तथा दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्र किसोर थारुको प्रमुख आतिथ्यता रहेको थियो। साथै जिल्ला, प्रदेश तथा संघीय तहका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका सदस्य, बुद्धिजीवी, पत्रकार तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा सहभागी विद्यालयहरूको उच्च प्रतिस्पर्धा र दर्शकहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।