दुधौली एफएम संवाददाता
सिन्धुली / दुधौली नगरपालिका वडा नं. १० निवासी रामशरण थापा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य तथा दुधौली नगर कमिटी उपाध्यक्षको जिम्मेवारी सम्हालि सक्नुभएका थापाले लोकतान्त्रिक मूल्य, मान्यता र आस्थालाई आत्मसात् गर्दै काँग्रेस पार्टीमा आबद्ध हुनुभएको ह
नेपाली काँग्रेस जिल्ला कार्य समिति सिन्धुलीले आज एक औपचारिक बधाई तथा स्वागत पत्र जारी गर्दै उहाँको पार्टी प्रवेशको जानकारी गराएको छ। जिल्ला सभापति उपेन्द्र कुमार पोखरेलद्वारा हस्ताक्षरित उक्त पत्रमार्फत काँग्रेसले नेता थापालाई हार्दिक स्वागत गरेको छ।

दुधौली नगरपालिका वडा नं. ६ को हर्साहीमा आज आयोजित काँग्रेसको नगर स्तरीय कार्यकर्ता भेला कार्यक्रममा नेता थापासहित विभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्ताहरू पनि काँग्रेसमा प्रवेश गरेका छन्। कार्यक्रममा लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल मर्म बोकेको नेपाली काँग्रेसले थापाको आगमनलाई ऐतिहासिक र सकारात्मक कदमका रूपमा लिएको जनाएको छ।
स्वागत पत्रमा काँग्रेसलाई नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै संविधान निर्माण, शान्ति सुरक्षा, सुशासन तथा नागरिकका मौलिक अधिकार स्थापित गर्ने अभिभावक पार्टीका रूपमा उल्लेख गरिएको छ। साथै, काँग्रेस विधान २०१७ को धारा १५ उपधारा (ख) २ अनुसार रामशरण थापालाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुलीको सदस्य पदमा मनोनयन गरिएको जानकारी पनि पत्रमा समावेश गरिएको छ।
पार्टीले काँग्रेसको नीति, सिद्धान्त र आदर्शमा दृढ रहँदै संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्नुहुने अपेक्षा व्यक्त गर्दै उहाँलाई बधाई तथा शुभकामना दिएको छ।
