दुधौली न्युज सम्बाददाता
दुधौली / हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । आजदेखि सुरु हुने यो पर्वको पहिलो दिन घटस्थापना गरी विधिवत् रूपमा देवी दुर्गाको पूजाआराधना गर्ने प्रचलन छ ।
आज बिहानै घरघरमा दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक देवी दुर्गाको आह्वानसहित पूजाआरम्भ गरिएको छ । नदी वा चोखो स्थानबाट ल्याइएको बालुवा वा माटो गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा राखी त्यसमा जौ रोप्ने परम्परा रहेको छ ।

यसै अवसरमा सिन्धुली जिल्लाको एक मात्र दुर्गा मन्दिर मानिने दुधौली नगरपालिका–९ स्थित दुर्गा मन्दिरमा पनि विधिपूर्वक घटस्थापना गरिएको छ । मन्दिरका पुजारी तथा समितिका पदाधिकारीहरूले पूर्णकलश स्थापना गरी देवी दुर्गाको आराधना गर्दै जमरा राखेका हुन् । स्थापना गरिएको कलशको जललाई विजया दशमीका दिन अभिषेक गरी दुर्गा देवीको प्रसादस्वरूप ग्रहण गर्ने परम्परा रहिआएको छ ।
वर्षौंदेखि पूजाआराधना हुँदै आएको यो मन्दिरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि नित्य पूजा गरी जमरा राखिएको हो । मन्दिरमा मूर्तिपूजा सुरु भएसँगै दुधौली र कमलाखोंचका स्थानीयलाई दशैं आएको अनुभूति हुने गरेको छ । यस मन्दिरमा भाकल गरेमा मनोकामना पूरा हुने र निसन्तान दम्पतीलाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको दुधौली–९ का पूर्ववडा अध्यक्ष रामकुमार अधिकारी दनुवारले जानकारी दिनुभयो ।

यस मन्दिरमा आज रोपिएको जमरा विजयादशमीको दिन देवीलाई चढाई टीका–प्रसादसँगै घरघरमा वितरण गरिनेछ । जमरालाई समृद्धिको प्रतीकका साथै आयुर्वेदिक औषधिका रूपमा पनि प्रयोग गरिन्छ ।
बडादशैं असोज १६ गते विजयादशमीका दिन देवी विसर्जनसँगै सम्पन्न हुनेछ । यस दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत र ११ बजेर ५३ मिनेटमा टीका लगाउने शुभसाइत रहेको खगोलविद्हरूले बताएका छन् । यस पर्वलाई आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाउने प्रचलन छ ।
