दुधौली एफ.एम.सम्बाददाता
दुधौली, सिन्धुली/ श्रमलाई सम्मान गर्ने संस्कारको विकास, सामूहिक श्रम संस्कृतिको संरक्षण तथा सामाजिक उत्तरदायित्वप्रति नागरिकलाई सचेत गराउने उद्देश्यले श्रम संस्कृति पार्टी दुधौली नगर कमिटीले बिहीबार दुधौली नगरपालिकाको प्रमुख व्यापारिक तथा ऐतिहासिक हाट बजार क्षेत्रमा वृहत् श्रमदान तथा सरसफाइ अभियान सञ्चालन गरेको छ। त्यसलगत्तै पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीयवासीले सामूहिक रूपमा धान रोपाइँ गर्दै श्रम, सहकार्य र एकताको सन्देश प्रवाह गरेका छन्।
दुधौली नगरपालिकाको सबैभन्दा पुरानो तथा प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित बिहिबारे हाटेचौरी क्षेत्रमा आयोजित श्रमदान कार्यक्रम श्रम संस्कृति पार्टीका बागमती प्रदेश अध्यक्ष निमबहादुर मोक्तान (निमा) को प्रमुख आतिथ्यता तथा दुधौली नगर अध्यक्ष बालकुमार सुनुवार को संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
श्रमदान अभियानअन्तर्गत हाट बजार क्षेत्र, मुख्य सडक, लखिमाखोलाको किनार तथा रामजानकी आधारभूत विद्यालय वरपर रहेका सार्वजनिक स्थानहरूको सरसफाइ गरिएको थियो। लामो समयदेखि विभिन्न स्थानमा थुप्रिएको फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बागमती प्रदेश अध्यक्ष निमबहादुर मोक्तानले सार्वजनिक स्थलको सरसफाइ स्थानीय सरकारको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको बताउनुभयो। उहाँले प्रत्येक नागरिकले आफ्नै घर तथा घरआसपासको वातावरण सफा राख्ने संस्कार विकास गर्न सके समाज स्वतः स्वच्छ, सभ्य र व्यवस्थित बन्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी दुधौली नगर अध्यक्ष बालकुमार सुनुवारले आफ्नै घरअगाडिको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास भए सभ्यता र संस्कारको उदाहरण खोज्न कतै जानु नपर्ने बताउनुभयो। उहाँले श्रमप्रतिको सम्मान अभिवृद्धि गर्न तथा नागरिकमा सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्यले समय–समयमा बजार केन्द्रित श्रमदान अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
उहाँका अनुसार श्रमदान गर्न सकिने स्थान धेरै भए पनि बजारजस्ता सार्वजनिक स्थलबाट अभियान सुरु गर्दा ठूलो संख्यामा नागरिकमा सकारात्मक सन्देश पुग्ने विश्वास गरिएको छ। यस्ता अभियानले सार्वजनिक सम्पत्तिको संरक्षण, वातावरणीय सरसफाइ तथा सामुदायिक उत्तरदायित्वप्रति नागरिकलाई थप सचेत बनाउने उहाँको भनाइ थियो।
यसैबीच, सोही दिन पार्टीले सामूहिक श्रमको अर्को उदाहरण प्रस्तुत गर्दै दुधौलीका एक किसानको खेतमा संयुक्त रूपमा धान रोपाइँ कार्यक्रमसमेत सम्पन्न गरेको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीयवासीले एकसाथ श्रमदान गर्दै धान रोपाइँ गरेका थिए।
पार्टीले सामूहिक कृषि श्रममार्फत आपसी सहयोग, सहकार्य, भाइचारा तथा श्रमको सम्मान गर्ने संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्य रहेको जनाएको छ। पछिल्लो समय घट्दै गएको सामूहिक श्रम संस्कृतिलाई पुनः स्थापित गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने पार्टीले जनाएको छ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले श्रम संस्कृति पार्टीले सञ्चालन गरेको सरसफाइ तथा सामूहिक धान रोपाइँ अभियानको प्रशंसा गर्दै यस्ता सामाजिक तथा जनहितका कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाउनुका साथै श्रमप्रतिको सम्मान र सामाजिक एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
