रोहित कुमार गुरुङ
दुधौली, सिन्धुली, जेठ ५ — सिन्धुलीको दुधौली नगरपालिकामा ‘आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम’ अन्तर्गत उन्नत प्रजातिको सिरोही बीउ बोका वितरण गरिएको छ। दुधौली नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र हेण्डस नेपालको आर्थिक तथा प्राविधिक सहकार्यमा आयोजित औपचारिक कार्यक्रममा नगरका सबै १४ वडाका कृषक समुदायलाई लक्षित गर्दै बीउ बोका वितरण गरिएको हो।
उक्त कार्यक्रमले विशेषतः साना किसान र युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। दुधौली नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष केशव बरालको अध्यक्षता र कार्यवाहक नगरप्रमुख चन्द्र किशोर थारूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधिहरू, हेण्डस नेपालका अध्यक्ष बशुदेव अधिकारी तथा परियोजना प्रमुख रोहित कुमार ढकालको उपस्थिति थियो।

कार्यक्रम उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि थारूले दुधौली नगरपालिकाको ७० प्रतिशत आर्थिक र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नु भयो, “भोकलाई एक छाक भोजन होइन, जीविकोपार्जनको सीप सिकाऔं” भन्ने नारासहितको यो अभियानले आत्मनिर्भर समुदाय निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

हेण्डस नेपालका अध्यक्ष बशुदेव अधिकारीका अनुसार, दुधौलीका १४ वटै वडामा दुई-दुई वटा गरेर जम्मा २८ वटा सिरोही बीउ बोका वितरण गरिएको छ। प्रति बोकाको लागत ५० हजार रुपैयाँ पर्ने गरी रु १४ लाख रुपैयाँ बराबरको अनुदानमा बीउ बोका कृषकलाई उपलब्ध गराइएको हो।
सिरोही बाख्रा के हो?
सिरोही बाख्रा भारतको राजस्थानको सिरोही र गुजरातको पालाम्पुर क्षेत्रमा पाइने एक उन्नत जातको बाख्रा हो। यो सुख्खा क्षेत्रका लागि उपयुक्त मानिन्छ र अहिले नेपालका पश्चिमी क्षेत्रमा भित्रिएको छ। सिरोही बाख्रा मध्यम आकारको, खदिलो जिउ भएको प्रजाति हो, जसको रंग प्रायः खैरो तथा शरीरमा धब्बा देखिन्छन्।
यस बाख्राको औसत जन्म तौल २.५–२.७५ के.जी. हुन्छ भने बोकाको तौल ५०–७० के.जी. र बाख्रीको २५–३५ के.जी. पुग्ने गर्छ। एक पटकमा जुम्ल्याहा पाठापाठी दिने सम्भावना उच्च हुने यो जात १० महिनामै व्याउने उमेरमा पुग्ने गर्छ। यद्यपि यो मुख्यतया मासु उत्पादनका लागि उपयुक्त मानिन्छ, यसको दूध दिने क्षमता पनि उल्लेखनीय छ ।

कृषकहरू उत्साहित
बीउ बोका वितरणसँगै कृषकहरूलाई प्राविधिक तालिम समेत प्रदान गरिएको छ। सहभागी कृषकहरूले अब प्रजनन, पोषण, र स्वास्थ्य व्यवस्थापनसम्बन्धी सीप सिकेर आफ्नो पशुपालन व्यवसायलाई अझ व्यावसायिक बनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमले दुधौली क्षेत्रमा कृषिमा आत्मनिर्भरता र समृद्धिको आधार तयार पार्ने विश्वास गरिएको छ। यस्तो समावेशी कार्यक्रमले स्थानीय स्तरमा आधुनिक पशुपालन प्रणालीको विकाससँगै आर्थिक समृद्धितर्फ महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
