दुधौली एफ.एम सम्वाददाता
सिन्धुली/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलो अभियान, भेटघाट र मतदाता मनाउने रणनीतिमा व्यस्त देखिएका छन् । आ–आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहे पनि पछिल्लो स्थानीय तह निर्वाचनको नतिजा, वडास्तरको प्रतिनिधित्व र पार्टीभित्रको अवस्थालाई आधार मान्दा यस क्षेत्रमा रोचक तर असमान प्रतिस्पर्धाको संकेत देखिएको छ ।

सिन्धुली–१ मा मुख्यतः नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुने चर्चा छ । तर स्थानीय तहको पछिल्लो परिणाम हेर्दा कांग्रेस उम्मेदवार उज्ज्वल प्रसाद बरालको पक्षमा बलियो आधार देखिएको कांग्रेस पक्षको दाबी छ ।

यस निर्वाचन क्षेत्रमा चारवटा पालिका र कमलामाई नगरपालिकाका तीन वडा गरी कुल ४१ वटा वडा पर्दछन् । तीमध्ये २१ वडामा नेपाली कांग्रेसका जनप्रतिनिधि निर्वाचित भई प्रत्यक्ष रूपमा कार्यरत छन् । फिक्कल गाउँपालिकाको ६ मध्ये एउटा वडा , गोलन्जोर गाउँपालिकाको ६ मध्ये तीन वडा, तीनपाटन गाउँपालिकाको ११ मध्ये नौ वडा, दुधौली नगरपालिकाको १४ मध्ये सात वडा तथा कमलामाई नगरपालिकाका वटा वडा मध्य एउटा वाडामा कांग्रेसको प्रतिनिधित्व रहेको तथ्यांकले कांग्रेसको सांगठनिक उपस्थिति बलियो देखाएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार वडास्तरको यस्तो संरचनागत उपस्थितिले मत व्यवस्थापन र संगठन परिचालनमा कांग्रेसलाई सहज बनाउने देखिन्छ । अर्कोतर्फ एमालेले समानुपातिक मतको आधारमा आफ्नो बलियो उपस्थिति रहेको दाबी गरे पनि पछिल्लो समय नेतृत्वस्तरका अभिव्यक्तिहरूका कारण कार्यकर्ता पंक्तिमा असहजता देखिएको टिप्पणी स्वयं पार्टी निकट स्रोतहरूबाट आउने गरेको छ ।

उता तत्कालीन माओवादी केन्द्र र नेकपा समाजवादीबीचको मत समायोजन र कार्यकर्ता एकीकरण अझै पूर्ण रूपमा स्पष्ट नभएकाले बाम मत कता केन्द्रित हुन्छ भन्ने विषयमा अन्योल कायमै रहेको बताइन्छ । नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी सामाजिक सञ्जालमा चर्चित देखिए पनि वडास्तरको संरचना र स्थायी संगठन कमजोर भएकाले प्रत्यक्ष प्रतिस्पर्धामा चुनौतीपूर्ण अवस्था रहेको स्थानीय आकलन छ ।

घरदैलो अभियानका क्रममा मतदाताले सकारात्मक स्वागत गरिरहेको दाबी कांग्रेस पक्षको छ । उम्मेदवार बरालले आगामी कार्यकालमा सबै दल र समुदायलाई समेटेर विकास निर्माणका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउँदै आएका छन् । सहज स्वभाव र अन्तरदलीय सम्बन्धका कारण अन्य दलका केही समर्थकको समेत साथ पाउन सक्ने कांग्रेसको विश्वास छ ।
स्थानीय तहको संरचनागत आधार, संगठन विस्तार र हालसम्मको राजनीतिक समीकरणलाई हेर्दा सिन्धुली–१ मा नेपाली कांग्रेसका उम्मेदवारलाई तुलनात्मक रूपमा सहज अवस्था देखिए पनि अन्तिम निर्णय मतदाताको विवेकमा निर्भर रहनेछ । वाम मतको एकीकरण, एमालेको अन्तिम रणनीति र नयाँ शक्तिको प्रभाव कति निर्णायक बन्छ भन्ने कुरा निर्वाचन परिणामले मात्र स्पष्ट पार्नेछ । अहिलेका संकेतले भने सिन्धुली–१ मा कांग्रेस अघि देखिएको छ ।
