दुधौली एफएम सम्बाददाता
दुधौली / बागमती प्रदेश प्रहरी तालिम केन्द्रमा नयाँ भर्ना भएका प्रहरी जवानहरूको आधारभूत तालिम ६–२०४ समूहको दीक्षान्त समारोह भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। करिब ११ महिनासम्म सञ्चालन गरिएको तालिम सफलतापूर्वक पूरा गरी राष्ट्रसेवामा समर्पित हुने तयारीमा रहेका प्रशिक्षार्थी प्रहरी जवानहरू औपचारिक रूपमा दीक्षित भएका हुन्।

बागमती प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालनमा रहेको प्रहरी जवान आधारभूत तालिम ६–२०४ समूहको दीक्षान्त समारोह गत मिति २०८१ साल माघ २७ गतेदेखि सुरु भएको तालिमको सफल समापनस्वरूप सम्पन्न भएको हो। उक्त समारोह बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रमुख अतिथि पौडेलज्यूले दीक्षान्त भएका प्रहरी जवानहरूलाई निर्देशनात्मक सम्बोधन गर्दै प्रहरी संगठनको गरिमा, मूल्य–मान्यता र जिम्मेवारीप्रति सचेत रहन आग्रह गर्नुभयो। उहाँले अनुशासन, इमान्दारिता, पेशागत निष्ठा र सेवाभाव नै प्रहरीको पहिचान भएको उल्लेख गर्दै राष्ट्र र जनताको सुरक्षा तथा सेवामा समर्पित भई निष्पक्ष रूपमा कार्य गर्न प्रशिक्षार्थीहरूलाई प्रेरित गर्नुभयो।

समारोहमा तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थी प्रहरी जवानहरूलाई प्रमुख अतिथिज्यूबाट पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो। साथै, तालिम सञ्चालनमा उल्लेखनीय योगदान पुर्याउने प्रशिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा सह–समादेशक तथा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीज्यूले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा तालिम अवधिमा प्रदान गरिएका शारीरिक, मानसिक, कानुनी तथा व्यावसायिक सीपहरूको विवरण प्रस्तुत गरिएको थियो।

त्यसैगरी, तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालज्यूले प्रमुख अतिथि तथा उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै तालिम केन्द्रबाट उत्पादन भएका प्रहरी जवानहरूले संगठन र समाजमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
दीक्षान्त समारोहमा प्रहरीका उच्च अधिकारीहरू, प्रशिक्षकहरू, दीक्षित प्रहरी जवानका अभिभावकहरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोह अनुशासित परेड, आकर्षक प्रस्तुति र उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको थियो।
