दुधौली एफं.एम. सम्बाददाता
सिन्धुली, असार ११ / सिन्धुलीको दुधौली नगरपालिका–९ मा महिलाहरूको क्षमता विकास र आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै सञ्चालन गरिएको १ सय ८५ घण्टे एड्भान्स ब्युटिसियन तालिम सम्पन्न भएको छ। महिला सशक्तीकरण तथा क्षमता विकासमार्फत गरिबी निवारण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त तालिम बिहीबार एक औपचारिक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गर्दै समापन गरिएको हो।
अर्पण गरिबी निवारण संस्थाको आयोजनामा तथा बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय को आर्थिक सहयोगमा सञ्चालित तालिम वैशाख २९ गतेदेखि असार ११ गतेसम्म सञ्चालन भएको थियो। तालिममा सहभागी महिलाहरूलाई ब्युटिसियन व्यवसायसँग सम्बन्धित उन्नत सीप तथा व्यावसायिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा अर्पण गरिबी निवारण संस्थाकी अध्यक्ष अर्पणा खड्काको सभाध्यक्षता तथा दुधौली नगरपालिका ९ का वडा अध्यक्ष देव प्रसाद अधिकारी दनुवारको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आगामी दिनमा सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी आत्मनिर्भर बन्न वडा अध्यक्ष अधिकारीले आग्रह गर्नु भयो । यसैगरी संस्थाकी अध्यक्ष खड्काले तालिम पस्चात सिपको भरपुर सदुपयोग गर्न आग्रह गर्नु भयो ।
तालिमको सहजीकरण दुधौली नगथरपालिकाको मुख्य बजारमा रहेको प्रनिसा ब्युटी पार्लरकी सञ्चालिका सीता पौडेल भट्टराईले गर्नुभएको थियो। उहाँले तालिमका क्रममा ब्युटिसियन पेशासँग सम्बन्धित व्यवहारिक तथा प्राविधिक पक्षहरूबारे सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।

आयोजक संस्थाका अनुसार अर्पण गरिबी निवारण संस्थाले विगत केही वर्षदेखि दुधौली क्षेत्रलगायत विभिन्न स्थानमा लागूऔषध दुव्र्यसन नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण, महिला सशक्तीकरण, क्षमता विकास तथा उद्यमशीलता प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले उद्यमीहरूका लागि बीउ पुँजी सहयोग, सीपमूलक तालिम तथा आयआर्जनका कार्यक्रमहरूलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ।
चालु आर्थिक वर्षमा यस संस्थाले दुधौली नगरपालिकाभित्र बेकरी तालिम, कृषि सम्बन्धी तालिम तथा अन्य विभिन्न उद्यमशीलता विकास कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ। यस्ता सीपमूलक तालिमहरूले महिलाहरूलाई स्वरोजगार तथा आत्मनिर्भरतातर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागीहरूले प्राप्त सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय तह, गैरसरकारी संस्था र प्रदेश सरकारबीचको सहकार्यमा सञ्चालन हुने यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
