दुधौली एफएम संवाददाता
दुधौली / नेपाली कम्युनिष्ट पार्टीले सिन्धुली जिल्लाका प्रतिनिधिसभा क्षेत्र नं. १ र २ का लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ। पार्टीले आज माघ ४ गते दुवै क्षेत्रका उम्मेदवारलाई औपचारिक रूपमा उम्मेदवारीको पत्र प्रदान गर्दै उम्मेदवारी सुनिश्चित गरेको हो।
सिन्धुली प्रतिनिधिसभा क्षेत्र नं. १ का लागि अधिवक्ता समेत रहेका डेकेन्द्र सुबेदी उम्मेदवार चयन भएका छन्। दुधौली नगरपालिका–११ धनसरी निवासी सुबेदी पार्टीभित्रको गठबन्धन सहमतिअनुसार उम्मेदवार बनेका हुन्। गठबन्धनको निर्णयअनुसार यो क्षेत्र तत्कालीन नेकपा एकीकृत समाजवादी (नेकपा एस)को भागमा परेकाले सुबेदीले टिकट सुरक्षित गर्न सफल भएका हुन्।
त्यसैगरी, सिन्धुली प्रतिनिधिसभा क्षेत्र नं. २ का लागि यसपटक पनि लेखनाथ दाहाल ‘राजन’ पुनः उम्मेदवार चयन भएका छन्। पार्टीभित्र मात्र होइन, जिल्लाभर प्रभावशाली नेताका रूपमा परिचित दाहाल यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनबाट विजयी भएका थिए। कांग्रेससहितको साझा समर्थनमा उनले उल्लेखनीय मतान्तरसहित जित हासिल गरेका थिए।
यस क्षेत्रबाट हरिबोल गजुरेल, महेश्वर दाहाल तथा जिल्ला संयोजक पानीराज बम्जनलगायत नेताहरूले टिकट पाउने चर्चा चले पनि अन्ततः सबैलाई पछि पार्दै दाहालले टिकट हात पारेका हुन्।
उम्मेदवार चयनसँगै नेपाली कम्युनिष्ट पार्टीले सिन्धुलीमा चुनावी तयारीलाई तीव्र बनाएको जनाएको छ। पार्टी नेतृत्वले गठबन्धनलाई मजबुत बनाउँदै संगठन विस्तार, जनसम्पर्क र प्रचार अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने विश्वास व्यक्त गरेको छ।
