दुधौली एफएम संवाददाता
दुधौली / कुनै पनि स्थानमा रोगको संख्या घट्नु सकारात्मक सूचक मानिन्छ । तर बिरामी हुँदाहुँदै पनि स्थानीय अस्पताल छाडेर अन्यत्र उपचार खोजिनु भने त्यहाँको स्वास्थ्य सेवा, व्यवस्थापन र जनविश्वासमा गम्भीर समस्या रहेको संकेत हो । यस्तै अवस्था सिन्धुलीको दुधौली नगरपालिकास्थित सिथौलीमा रहेको दुधौली नगर अस्पतालमा देखिएको छ ।
दुधौली नगरपालिका मलाखोंज क्षेत्रकै एकमात्र सुविधा सम्पन्न मानिने सिथौली अस्पतालमा पछिल्लो केही महिनायता बिरामीको आकर्षण उल्लेख्य रूपमा घट्दै गएको छ । अस्पतालका कर्मचारीहरूका अनुसार यसअघि दैनिक २ सयदेखि ४ सयसम्म बिरामी उपचारका लागि आउने गरेकामा हाल दैनिक एक सयको संख्या कटाउन पनि मुस्किल परेको छ ।
बिरामी हुँदाहुँदै अस्पताल छाड्ने बाध्यता
स्थानीय सेवाग्राहीहरूका अनुसार दुधौली नगरपालिकाभित्र सामान्यदेखि दीर्घ रोगसम्मका बिरामी उपचारका लागि छिमेकी जिल्ला उदयपुर र महोत्तरीको बर्दिबासतर्फ जाने क्रम बढ्दो छ । विगतमा नियमित रूपमा सिथौली अस्पतालमै उपचार गराउँदै आएका बिरामीसमेत अहिले अन्यत्र जान थालेको पाइन्छ ।
सेवाग्राहीहरू भन्छन्, “अस्पताल नजिकै हुँदाहुँदै पनि यहाँको सेवाप्रति भरोसा घट्दै गएको छ, त्यसैले अलि टाढा भए पनि बाहिरै जान बाध्य छौँ ।
