दुधौली एफएम सम्बददाता
दुधौली, मंसिर १३, / दुधौली नगरपालिका इतिहासमै पहिलोपटक आयोजना गरिएको क्रीकेट कप खुल्लाा नकाउट प्रतियोगिता–२०८२ अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा घरेलु आयोजक दुधौली क्रीकेट क्लब (A) विजयी भएको छ। कडा प्रतिस्पर्धामध्ये घरेलु टोलीले गिचियानी क्रीकेट क्लबलाई २४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

टस जितेर पहिले व्याटिङ गरेको दुधौली क्रीकेट क्लब (A) ले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १६२ रनको योगफल बनाएको थियो। घरेलु टोलीका सुबन श्रेष्ठले सर्वाधिक ६४ रन बनाउँदै टोलीलाई ठूलो स्कोरसम्म पुर्याए। त्यसैगरी रेमेश मन्डलले २८ रन र दिबेश भुजेलले अविजित २३ रनको योगदान दिए।

बलिङतर्फ गिचियानी क्लबका आयुषले ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे। जवाफमा १६३ रनको लक्ष्य लिएर मैदान उत्रिएको गिचियानी क्रीकेट क्लब १६.१ ओभरमा १३९ रनमै सबैआउट भएको थियो।
गिचियानीका तर्फबाट आयुषले ४९ रन, नगेन्द्रले २३ रन, र बिबेकले १६ रनको योगदान दिए। दुधौली क्रीकेट क्लब (A) का बलर मनिष यादवले ५ विकेट, सुबन श्रेष्ठले ३ विकेट, र मुकेश साहले २ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले । आजको खेलमा ब्याटिङ र बलिङ दुवै तर्फ उत्कृष्ट प्रदर्शन गरेका सुबन श्रेष्ठलाई प्लेयर अफ द म्याच घोषित गरिएको छ।
यससँगै घरेलु टोली दुधौली क्रीकेट क्लब (A) क्रीकेट कप–२०८२ को फाइनलमा प्रवेश गर्न सफल भएको छ। भोलि हुने फाइनल खेलमा दुधौलीले सिन्धुलीको कमलामाई नगरपालिकाको सिन्धुली क्रीकेट क्लबसंग प्रतिस्पर्धा गर्ने छन ।
खेलमा प्रथम हुनेले ५० हजार र दोस्रोलाई २५ हजार नगद सहित शिल्ड ट्रफी र प्रमाणपत्र पाउनेछन ।
