निरुता कुवर दनुवार (प्रशिक्षार्थी पत्रकार)
दुधौली, सिन्धुली – आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमाका लागि दुधौली नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू अहिले तयारीमा व्यस्त छन्। संघीय संरचनाअनुसार तीनै तहका सरकारले छुट्टाछुट्टै मितिमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार दुधौली नगरपालिकाले असार १० गते नगरसभा मार्फत बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
नगरपालिकाका कार्यबाहक नगर प्रमुख चन्द्रकिशोर थारुका अनुसार, नगरसभाको तयारी अन्तिम चरणमा पुगेको छ। सो नगरसभाका लागि नगरका १४ वटै वडामा वडास्तरीय भेला तथा समिक्षा कार्यक्रमहरू सञ्चालनमा छन्।
वडा कार्यालयहरूले सूचना जारी गर्दै टोल सुधार समिति, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवीलगायत स्थानीय सरोकारवालाहरूको सहभागितामा आफ्नो वडाको अघिल्लो वर्षको समीक्षा र आगामी वर्षको विकास योजनासम्बन्धी छलफल गरिरहेका छन्।
नगर प्रवक्ता दीपक खड्काका अनुसार, नगरस्तरको समग्र बजेट र प्राथमिकताहरूबारे यहि असार ६ गते बस्ने कार्यपालिका बैठक पस्चात जानकारी दिने कार्यक्रम तय गरिएको छ।दुधौली नगरपालिकाले पूर्व तयारीका आधारमा योजनाबद्ध र सहभागी बजेट निर्माण प्रक्रिया अघि बढाएको जनाइएको छ।
