दुधौली एफएम संवाददाता,
सिन्धुली — असोज २७, २०८२ (अक्टोबर १३, २०२५)
सिन्धुलीको दुधौली नगरपालिका–११, माथिल्लो पत्रिङ्गामा रहेको श्री चन्द्र सुर्य युवा क्लबको आयोजनामा “प्रथम स्व. कोमल बहादुर काकी स्मृति गोल्ड कप खुला नकआउट फुटबल प्रतियोगिता–२०८२” हुने भएको छ।
दुधौली नगरपालिका क्षेत्रभित्रका युवाबीच खेलप्रतिको उत्साह र एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता स्वर्गीय समाजसेवी कोमल बहादुर कार्कीको सम्झनामा आयोजना गर्न लागिएको हो। उनका छोरा अनन्त कार्कीका अनुसार, उनका पिता समाजसेवा र खेलकुदप्रेमी व्यक्तित्व रहेका कारण युवापुस्तालाई प्रेरणा दिने हेतुले प्रतियोगिता आयोजना गरिएको हो।
आयोजक समितिका अनुसार, प्रतियोगिता शुभ दीपावलीको अवसरमा सुरु गरिनेछ र सिन्धुली क्षेत्र नम्बर १ भित्र दर्ता भएका क्लबहरू मात्र सहभागी हुन पाउनेछन्। खेल फिफाका नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन गरिनेछ।
पुरस्कार वितरणमा पहिलो हुने टिमलाई नगद रू. १,००,००० (एक लाख) सहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई रू. ३५,०००, र तेस्रो हुने टिमलाई रू. २०,००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यसैगरी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई प्रत्येकी रू. १०,०००, साथै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई “म्यान अफ द म्याच” पुरस्कारका रूपमा रू. १,००० प्रदान गरिनेछ।
क्लबका अध्यक्षका अनुसार, यस प्रतियोगिताले स्थानीय युवामा अनुशासन, खेलभावना र सामाजिक एकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
