
रोहित कुमार गुरुङ
सिन्धुली , चैत १७ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत शुक्रबार (चैत १५) काठमाडौँमा भएको राजावादी आन्दोलन पूर्ण रूपमा नियोजित रहेको बताएका छन्। उक्त घटनामा दुई जनाको मृत्यु समेत भएको थियो, जसको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंले लिनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ।
सिन्धुलीको दुधौलीमा नेकपा माओवादी केन्द्रको दोस्रो नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ज्ञानेन्द्र शाहलाई संकेत गर्दै भने, “आफ्नै घरभित्र नरसंहार मञ्चन गर्न सक्नेहरूले जनताको छोराछोरीको ज्यानलाई केही ठान्दैनन्। उनीहरूको नियत नै अराजकता र आतंक मच्चाउने थियो, तर उनीहरू पूर्ण रूपमा असफल भएका छन्।”
अध्यक्ष प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालमा ज्ञानेन्द्र शाहलाई जनताको आग्रहका बाबजुद दया गरेर छुट दिएको बताए। तर, हालैको आन्दोलनले शाहको वास्तविक नियत स्पष्ट पारिदिएको उनको भनाइ थियो। उनले थपे, “पार्टीहरूले देखाएको उदारताको नाजायज फाइदा उठाएर यदि फेरि पनि गुण्डागर्दी र हत्याकाण्ड मच्चाउने प्रयास गरिएमा जनता उनलाई अब छुट दिने छैनन्।”
समाजवादी र राजावादी सभाको तुलना
अध्यक्ष प्रचण्डले गत शुक्रबार नै भएका समाजवादी र राजावादी सभाको फरक स्पष्ट पार्दै समाजवादीहरूको सभा अनुशासित रहेको तर राजावादीहरूको सभा हिंसात्मक र अराजक भएको टिप्पणी गरे। उनले भने, “हाम्रो सभा हिरोहरूको सभा थियो, जबकि राजावादीहरूको सभा गुण्डा र खलनायकहरूको जस्तो देखियो।”
उक्त आन्दोलनको क्रममा भएको हिंसात्मक घटनालाई जनताले गम्भीर रूपमा लिएको भन्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा यस्ता अस्थिरता मच्चाउने प्रयासहरूलाई जनताले नै निरुत्साहित गर्ने विश्वास व्यक्त गरे।

