दुधौली एफ.एम. सम्वाददाता
दुधौली/ सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४ स्थित डकाहामा नव निर्मित आधुनिक आधारभूत स्वास्थ्य केन्द्र भवनको आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।

दुधौली नगरपालिका–४ का वडाध्यक्ष रित बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरे प्रमुख अतिथिबाट भवनको विधिवत उद्घाटन भएको हो।
उद्घाटन समारोहमा मन्तव्य दिँदै सांसद घिमिरेले सरकारले स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गर्न यस्ता पूर्वाधारलाई प्राथमिकता दिइरहेको बताउनुभयो। उहाँले यस्तो भवन निर्माणबाट स्थानीयले सहज र गुणस्तरीय सेवा पाउने विश्वास पनि व्यक्त गर्नुभयो।

स्वास्थ्य केन्द्रको भवन ६९ लाख ५५ हजार ६२४ रुपैयाँ ८६ पैसाको लागतमा निर्माण गरिएको हो। आर्थिक वर्ष २०८०/८१ अन्तर्गत दुधौली नगरपालिका र Santosh Contractor and Supplier बीचको ठेक्का सम्झौताअनुसार ७ कोठे आधुनिक भवन समयमै सम्पन्न गरिएको दुधौली नगरपालिकाका इन्जिनियर बाबुराम गौतमले बताउनु भयो ।
भवनमा बिरामीहरूको उपचारका लागि सेवा कक्ष, प्रतीक्षा कक्ष, चिकित्सक कक्षलगायतको व्यवस्था गरिएको छ।
भवन उद्घाटनसँगै स्थानीयवासीहरूमा उत्साह देखिएको छ। स्थानीय बासिन्दा सरिता बस्नेत भन्छिन् – “अब सामान्य उपचारका लागि टाढा जानुपर्ने झन्झट हट्यो, हाम्रै वडामा गुणस्तरीय सेवा पाउँदा खुशी लागेको छ।”
दुधौली नगरपालिकाले आगामी दिनहरूमा अन्य वडामा पनि यस्ता स्वास्थ्य केन्द्र विस्तार गरिने जानकारी दिएको छ।
