दुधौली एफ.एम. सम्बाददाता
सिन्धुली / जेन्जी आन्दोलनको उलटपुलटसँगै देश–विदेश, चिया चौतारीदेखि सामाजिक सञ्जालसम्म विचार र धारणा राख्नेहरूको ओइरो लागेको छ। यसैबीच, सिन्धुलीको दुधौली नगरपालिकाका वर्तमान नगरप्रमुख घनश्याम राउतले पनि आफ्नो सामाजिक सञ्जालमार्फत पार्टी र नेतृत्वलाई आत्ममन्थन गर्ने खालको सुझाव दिएका छन्।
राउत विगतदेखि नै विभिन्न माध्यममार्फत जनताको आवाज बुलन्द गर्दै आएका व्यक्ति हुन्। यो पटक पनि उहाँको एउटा फेसबुक स्टाटसले देशभरको ध्यान तानेको छ। पोस्ट गरेको ८ घण्टाभित्रै असंख्य प्रतिक्रियाहरू प्राप्त भएका छन्, जसमा अधिकांश सकारात्मक रहेको जनाइएको छ।
उहाँले लेख्नुभएको छ —
“संसारमा बिद्रोहबाट सत्ता फालिएपछि पहिले जति त्याग र तपस्या गरेपनि अहिले बिद्रोह जन्माउने जिम्मा नेतृत्वकै हुन्छ!
नेतृत्वको कारणबाट पार्टी सर्वनाश गर्ने कि फेरि उठाउने भन्ने गम्भीर प्रश्न उत्पन्न भएको छ।
चरम भ्रष्टाचार, बेथिति, अनियमितता र मनपरितन्त्रकै कारण बिद्रोह जन्मिएको कुरा नस्वीकार्ने, बिदेशीलाई दोष लगाएर फुत्किन खोज्ने हो भने धरातल खुस्किन्छ।
अझै पनि एमालेको चट्के डम्फु बजाउँदै हिँड्ने हो भने भोलि पश्चिम बंगालको अवस्था नआउला भन्न सकिँदैन।
गल्ती र कमजोरी स्वीकार गरेर सच्चिन नसके गाह्रो हुन्छ है साथी हो। यो मेरो निजी विचार हो।”
राउतको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा फरक–फरक धारणा आएका छन्।
तारानिधि पोखरेल लेख्छन् —
“सबै कुरा ठीक भएको भए आजको अवस्था आउने थिएन। कुनै पनि घटना बाह्य कारणले होइन, आन्तरिक कमजोरीका कारण हुन्छ। हाम्रै कमजोरीमै टेकेर यो विद्रोह भयो। अब ती कमजोरी सुधारेर जनतामा जानुको विकल्प छैन। लोकतन्त्रमा जनतासँग झुक्नु नै सच्चा नेतृत्व हो।”
त्यसैगरी, शंकर पराजुलीले पनि लेखेका छन् —
“जतिसुकै माया लागेपनि सिनो बनेपछि महादेवले पनि सतीको शरीर छोडे! अरूले नछोड्लान भन्न सकिन्न।”
नमुना माविका प्रधानाध्यापक मोहन साहीले भने,
“१०० प्रतिशत सहि विचार हो। पुराना दलहरूले आत्मआलोचना नगरी, युवाहरूको भावना कदर नगरी र नेतृत्वमा आमूल परिवर्तन नगरे भने पूर्ण रूपमा समाप्त हुने निश्चित छ।”
यसैबीच, नेकपा (एमाले) सिन्धुली जिल्ला कमिटीका उपसचिव दिपेश बरालले पनि प्रतिक्रिया दिँदै भने —
“हामी सच्चिएर, कमजोरी स्वीकार गर्दै जनताको एजेन्डा मुखरित गर्ने हिसाबले मैदानमै हुनेछौं।
एमाले जनता र कार्यकर्ताले बचाएको पार्टी हो। प्रमुख पदमा पुगेकाहरूको अवस्था जनताले देखिसकेका छन्। अब हामी जनताको आवाज सुनेरै अगाडि बढ्नेछौं।”
राउतको अभिव्यक्तिले एमालेको आन्तरिक सुधार र आत्ममन्थनको बहसलाई पुनः जीवित बनाएको देखिन्छ।
उनको भनाइले एकातिर नेतृत्व तहमा आत्मसमीक्षाको आवश्यकता औंल्याउँछ भने अर्कातिर युवा पुस्ताको असन्तुष्टि बुझ्ने संकेत पनि दिन्छ।
राजनीतिक विश्लेषकहरूको भनाइमा, यस्ता खुला आत्ममन्थन र संवादले पार्टीभित्र सुधार र जनआस्थाको पुनःस्थापनामा सहयोग पुर्याउन सक्छ।
