दुधौली एफ.एम. सम्वाददाता
सिन्धुली — नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगर कमिटीले दुधौली नगरपालिकाका प्रमुखलाई स्मरण पत्र बुझाउँदै नगर क्षेत्रमा देखिएका कृषि, स्वास्थ्य तथा पशुपालनका समस्यामा तत्काल ध्यान दिन आग्रह गरेको छ। स्मरण पत्रमा पार्टीले नेपालको संविधान २०७२ अन्तर्गत बनेको तीन तहको सरकार संरचनाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै स्थानीय सरकारलाई ‘घरदैलोको सरकार’को रूपमा प्रभावकारी बनाउन आग्रह गरेको छ।
पार्टी सचिव चन्द्र बहादुर कार्की (रमेश) र अध्यक्ष के खेटराज अधिकारीको नेतृत्वमा बुझाइएको उक्त स्मरण पत्रमा, सिंहदरबारमा केन्द्रित शासन प्रणालीलाई जनताको घरदैलोमा पु¥याउने उद्देश्यसहित बनेको स्थानीय सरकार सुशासन, पारदर्शिता, सामाजिक न्याय र जवाफदेहिताका आधारमा सञ्चालन हुनुपर्ने उल्लेख छ। कृषि क्षेत्रमा मल अभावको समस्या स्मरण पत्रमा हाल कृषकहरू रासायनिक मलको अभावमा परिरहेको, वितरणमा ढिलाइ, अनियमित प्रणाली र कालोबजारीका कारण कृषि उत्पादनमा प्रत्यक्ष असर परेको उल्लेख छ। यसले दीर्घकालमा खाद्य सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने भन्दै पर्याप्त आपूर्ति, वितरण प्रणाली सुधार र कालोबजारी नियन्त्रणका लागि नगरपालिकाले ठोस कदम चाल्नुपर्ने माग गरिएको छ।
स्वास्थ्य क्षेत्रमा शुल्क वृद्धि जनविरोधी नगरको एक मात्र नगर अस्पतालमा गरिएको स्वास्थ्य सेवा शुल्क वृद्धिप्रति एमालेले कडा आपत्ति जनाएको छ। स्मरण पत्रमा सर्पदंश उपचारसहितका आधारभूत स्वास्थ्य सेवामा समेत नागरिकलाई शुल्क तिर्नुपर्ने व्यवस्था गरिब, विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकको पहुँच बाहिर जाने खतरा रहेको उल्लेख छ। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले शुल्क वृद्धि तत्काल फिर्ता गरी साविकको दरमा सेवा दिन आग्रह गरिएको छ।
लम्पी स्किन रोग नियन्त्रणका माग नगर क्षेत्रमा गाई–गोरुमा फैलिएको लम्पी स्किन रोगका कारण कृषकको जीविकोपार्जन, दुध व्यवसाय र स्थानीय अर्थतन्त्रमा असर परेको भन्दै यसको नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न स्मरण पत्रमा आग्रह गरिएको छ। पार्टीले रोगको स्थिति मूल्यांकन गरी सर्वेक्षण तथा निगरानी कार्य तीव्र पार्ने, जोखिममा परेका पशुलाई निःशुल्क वा अनुदानमा खोप उपलब्ध गराउने, पशु चिकित्सक तथा स्वास्थ्यकर्मीको मोबाइल टोली गठन गर्ने, संक्रमित पशुको आइसोलेसन र उपचार सुनिश्चित गर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यक औषधि तथा उपकरण तत्काल उपलब्ध गराउने सुझाव दिएको छ।
एमालेले लोकतन्त्रमा प्रतिपक्षको आवाज सुन्ने संस्कार स्थापित गर्न, जनताप्रति जवाफदेहितापूर्वक काम गर्न र नगरपालिकाले तत्काल जनहितका यस्ता समस्यामा प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको छ।
