दुधौली एफ.एम. सम्बाददाता
सिन्धुली / सिन्धुली जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरूको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुली परिसरमा नव निर्मित “स्मार्ट प्रहरी कन्ट्रोल रुम (Smart Police Control Room)” को उद्घाटन गरिएको छ।
कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल तथा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले संयुक्त रूपमा कन्ट्रोल रुमको समुद्घाटन गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

स्मार्ट कन्ट्रोल रुम निर्माणमा इलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसीको सक्रियता तथा अवधारणाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। आज भएको उद्घाटन कार्यक्रममा समेत इलाका प्रहरी कार्यालय भिमानको प्रमुख इन्सपेक्टर केसिले नै प्रिजेन्टेशन गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालयका एसपि सुवेदीले जिल्लामा यति राम्रो अवधारणा ल्याउनु भएकोमा इन्पेक्टर केसिलाई धन्यवाद दिनु भयो । साथै आर्थिक तथा बिभिन्न किसिमले साथ दिनु भएकोमा जिल्लाका सबै पालिकाका स्थानीय सरकारलाई समेत धन्यवाद दिनु भयो ।जिल्ला प्रहरी प्रशासनका अनुसार स्मार्ट प्रहरी कन्ट्रोल रुममार्फत “१०० एप” को प्रयोग गरी जिल्लाभरका मातहत युनिटहरूमा तत्काल सूचना सम्प्रेषण गर्न सकिनेछ। यस प्रणालीबाट सम्बन्धित प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयहरू थप जिम्मेवार बन्ने, डिस्प्याच भएका सूचनाहरू व्यवस्थित रूपमा रेकर्ड हुने तथा सूचना ढिलो प्राप्त भएको बहाना अन्त्य हुने अपेक्षा गरिएको छ।

यसैगरी प्रहरी परिचालनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सहयोग पुग्ने बताइएको छ। कार्यालय प्रमुखले एक्सेल फर्म्याटमा विभिन्न रिपोर्ट निकालेर डाटा विश्लेषण गर्न सक्ने, दैनिक वीआईपी/भीआईपी गतिविधि तथा बन्द–विरोध कार्यक्रमहरूको जानकारी प्राप्त हुने र खटिएका प्रहरी कर्मचारीलाई थप जिम्मेवार बनाउन सहज हुने जनाइएको छ।
प्रणालीमार्फत घटनाको फिल्ड रिपोर्ट प्राप्त गर्न सकिने, DIRS प्रणालीसँग लिंकअप गरी आवश्यक विवरण पठाउन सकिने तथा अपराध अनुसन्धानलाई थप बस्तुनिष्ठ र प्रभावकारी बनाउन मद्दत पुग्ने प्रहरीको विश्वास छ।
स्मार्ट प्रहरी कन्ट्रोल रुमले प्रहरी अनुसन्धानका कागजी प्रक्रियालाई एकरूपता दिँदै “पेपरलेस” अवधारणालाई व्यवहारमा उतार्ने अपेक्षा गरिएको छ। एउटै एपमार्फत CRS सम्बन्धी सम्पूर्ण रेकर्ड प्राप्त हुने भएकाले आपराधिक न्याय प्रणालीसँग सम्बन्धित निकायहरूलाई समेत उपयोगी हुने बताइएको छ।
यस परियोजनाका लागि कुल १२ लाख ९९ हजार १ सय रुपैयाँ बराबरको अनुमानित बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत डिस्प्ले उपकरणतर्फ ८ लाख ८० हजार रुपैयाँ, आईटी तथा फर्निचरतर्फ १ लाख ४८ हजार रुपैयाँ, इन्टरनेट, नेटवर्किङ तथा विद्युत व्यवस्थापनतर्फ १ लाख ५३ हजार रुपैयाँ तथा आकस्मिक खर्चका लागि १ लाख १८ हजार १ सय रुपैयाँ छुट्याइएको छ।
