दुधौली एफ.एम. सम्वाददाता
दुधौली / नेपाली साहित्यका प्रगतिवादी कवि तथा साहित्यकार दिल पौडेल को दशौं कृति ‘प्राज्ञिक संलाप’ सार्वजनिक गरिएको छ । आइतबार साँझ पारिवारिक वातावरणबीच सामाजिक सञ्जालमार्फत कृतिको औपचारिक सार्वजनिक गरिएको हो ।
बीस जना प्राज्ञिक व्यक्तित्वसँग गरिएको अन्तर्वार्तालाई समेटेर तयार पारिएको उक्त कृतिलाई नेपाली साहित्यिक अन्तर्वार्ता विधामा महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ । पुस्तकमा साहित्य, समालोचना, सिर्जनात्मक चेतना, समाज रूपान्तरण, मार्क्सवादी साहित्य, मोफसलको साहित्यिक अवस्था, नारीवाद तथा वर्तमान साहित्यिक परिवेशका विविध विषय समेटिएका छन् ।
कृतिको प्रकाशनमा लेखकका जेठा सुपुत्र सुदिप पौडेलको विशेष भूमिका रहेको बताइएको छ । पुस्तक सार्वजनिक कार्यक्रममा परिवारका सदस्यहरूको पनि सहभागिता रहेको थियो । यस अवसरमा साहित्यकार पौडेलले धर्मपत्नी सुमिता पौडेल, कान्छा छोरा सुमन पौडेल तथा बुहारी अनुसा खरेलप्रति साहित्यिक वातावरण निर्माणमा सहयोग पुर्याएको भन्दै आभार व्यक्त गर्नुभयो ।
‘प्राज्ञिक संलाप’ मा २० जना साहित्यिक तथा प्राज्ञिक व्यक्तित्वका विचार, दृष्टिकोण र अनुभव समेटिएका छन् । कृतिमा “साहित्य कस्तो हुनुपर्छ ?”, “साहित्यलाई जनस्तरसम्म कसरी पुर्याउने ?”, “वर्तमान साहित्यिक वातावरण”, “मोफसलका लेखकको भूमिका” जस्ता समसामयिक प्रश्नहरू उठाइएको छ ।
लेखक पौडेलले साहित्य केवल सोखपूर्तिको विषय नभई न्याय, चेतना र समाज परिवर्तनका लागि सिर्जना गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले कृतिमा समावेश उत्तरहरूले साहित्यका अध्येता, पाठक र अनुसन्धानकर्तालाई नयाँ दृष्टिकोण दिने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि पनि आफ्नै प्रकाशनमा उहाँका चार वटा कृति प्रकाशित भइसकेका छन् । ‘प्राज्ञिक संलाप’ लाई नेपाली साहित्यिक विमर्शमा नयाँ आयाम थप्ने कृतिका रूपमा चर्चा गरिएको छ ।
