दुधौली एफएम सम्बाददाता
पुस ०९, बुधबार
दुधौली / इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक सपना खड्का २०८२ साल मंसिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषित भई सम्मानित हुनुभएको छ।
प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन, उच्च अनुशासन र जिम्मेवारीपूर्ण भूमिकाको कदरस्वरूप जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले निरीक्षक खड्कालाई सम्मान तथा बधाई व्यक्त गर्नुभएको हो।
सम्मान कार्यक्रममा प्रहरी उपरीक्षक सुवेदीले निरीक्षक खड्काको सक्रियता, व्यावसायिक दक्षता र जनमैत्री सेवाले प्रहरी संगठनको गरिमा अझ उचाइमा पुगेको उल्लेख गर्नुभयो। साथै उहाँले आगामी दिनमा पनि अझ प्रभावकारी र अनुकरणीय कार्यसम्पादनको अपेक्षा व्यक्त गर्नुभयो।
इलाका प्रहरी कार्यालय दुधौली, सिन्धुलीमा सरुवा भएर आएपछि निरीक्षक खड्काले विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा विभिन्न प्रकारका तस्करीजन्य गतिविधिहरू विरुद्ध कडा निगरानी गर्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीहरूको भनाइ छ। विशेषगरी शान्ति सुरक्षा मजबुत बनाउन र जनतासँगको सहकार्य बढाउन उहाँको पहल प्रभावकारी देखिएको बताइएको छ।
प्रहरी निरीक्षक सपना खड्काको यस उपलब्धिले सिन्धुली जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई थप प्रेरणा र उत्साह मिलेको प्रहरी स्रोतले जनाएको छ।
उत्कृष्ट कार्यसम्पादन, अनुशासन र जनमैत्री सेवाको उच्च मूल्याङ्कन
