दुधौली एफ.एम. संवाददाता
सिन्धुली — सत्ता साझेदार नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पाँचौं महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरेसँगै दुधौली नगरपालिकामा वडा अधिवेशन सुरु भएको छ।
नेपाली कांग्रेस तथा तरुण दलको निर्देशनअनुसार दुधौली नगरपालिकामा अधिवेशनको प्रक्रिया अघि बढाइएको तरुण दल दुधौली नगर सभापति लक्ष्मण कुमार दनुवारले जानकारी दिनुभयो।
पहिलो चरणअन्तर्गत दुधौली नगरपालिका वडा नं. ५ र १० को अधिवेशन सम्पन्न भइसकेको छ। वडा नं. ५ मा शुभलाल तामाङको सभापतित्वमा १३ सदस्यीय वडा समिति गठन गरिएको छ भने वडा नं. १० मा बीरबहादुर सुनुवारको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको हो।
सभापति दनुवारका अनुसार दुधौली नगरपालिकाका विभिन्न वडामा अधिवेशन सञ्चालन गर्न प्रतिनिधिहरू तोकिएका छन्। जसअनुसार वडा नं. १ मा राजन दाहाल, २ मा कृष्ण चन्द्र दाहाल, ३ मा राजन बिष्ट, ४ मा सन्तोष थापा, ५ मा मनोज श्रेष्ठ, ६ मा सन्तोष पौडेल, ७ मा प्रदीप घिमिरे, ८ मा बैकुण्ठ बराल, ९ मा रितेश विक, १० मा लक्ष्मण कुमार, ११ मा विश्वास शाही ठकुरी, १२ मा सुरेश बुढाथोकी, १३ मा श्रवण अधिकारी र १४ मा कमानसिंह आले मगरलाई प्रतिनिधि तोकिएको छ।
नेपाल तरुण दलले कार्यतालिका ७७ वटै जिल्लामा पठाइसकेको छ। लामो समयदेखि महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले निर्देशन समिति बनाएर अधिवेशन अघि बढाएको हो।
गत चैतभित्र कांग्रेसले आफ्ना १३ भ्रातृ संस्थालाई महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। तर, तीमध्ये पाँच संस्थाले मात्र महाधिवेशन गरेका छन्। बाँकी संस्थामा महाधिवेशन गराउन कांग्रेसले तदर्थ समिति गठन गरेको थियो। पटक–पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेपछि विद्वान गुरुङको अध्यक्षतामा रहेको तरुण दल तदर्थ कार्यसमितिलाई अन्तिम पटक महाधिवेशन गराउन म्याद दिइएको हो।