दुधौली एफ.एम. सम्वाददाता
दुधौली, सिन्धुली — नेपाल शिक्षक महासंघ दुधौली नगर कार्य समितिाले शिक्षक तथा विद्यालय कर्मचारीको हकहित र शैक्षिक गुणस्तर सम्बन्धी सात बुँदे मागसहित दुधौली नगरपालिकाको ध्यानाकर्षण गराएको छ।
महासंघले एक ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिकाले विद्यार्थी सङ्ख्या अनुसार शिक्षक तथा कर्मचारी दरबन्दी मिलाउने प्रयासलाई स्वागत गरे पनि विद्यालय समायोजनपश्चात देखिएका समस्या समाधानमा गम्भीर ध्यान दिन आग्रह गरेको हो।

ध्यानाकर्षण पत्रमा न्यूनतम वेतनमा कार्यरत नगर शिक्षकलाई विस्थापित हुन नदिने, समायोजनमा परेका शिक्षकलाई प्राथमिकतामा राखी बाँकी दरबन्दी मिलाउने, विद्यालयका क.स., बालविकास सहयोगी र विद्यालय लेखा कर्मचारीलाई तलब रकममा समानुपातिक समायोजन गर्ने माग राखिएको छ।
त्यसैगरी राहत दरबन्दीका शिक्षकलाई न्यूनतम मापदण्ड बनाएर विषय विज्ञमा सूचीकृत गर्ने, दुधौली नगरपालिकाभित्रका सबै विद्यालयमा बालविकास दरबन्दीको व्यवस्था गर्ने, समायोजनका क्रममा केन्द्रिकृत भएका विद्यालय कर्मचारीलाई सहमतिमा आवश्यक विद्यालयमा पठाउने तथा एकमुष्ठ अनुदानमा सञ्चालित विद्यालयमा कार्यरत कर्मचारीलाई पालिकाबाट नियमित तलब-भत्ता निकासा गर्ने व्यवस्था मिलाउन महासंघले माग गरेको छ।
नेपाल शिक्षक महासंघ दुधौली नगर समितिका अध्यक्ष रमेश प्रसाद गौतम, सअध्यक्ष ऋषि प्रसाद काफ्ले र सचिव मिश्र फुयालको हस्ताक्षरसहित बुझाइएको उक्त ध्यानाकर्षण पत्रमा शैक्षिक हितका माग तत्काल सम्बोधन गर्न नगरपालिकालाई आग्रह गरिएको छ।
