नगरपालिका सबै विद्यालय प्रविधिमैत्री भएको शाखाको दाबी
सर्मिला कटुवाल ( प्रशिक्षार्थी पत्रकार )
दुधौली, — दुधौली नगरपालिकाको शिक्षा शाखाले नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) हस्तान्तरण गरेको छ। आज एक औपचारिक कार्यक्रमका बीच सम्पन्न उक्त हस्तान्तरणसँगै दुधौली नगरपालिका अन्तर्गत बाल कक्षा मात्र सञ्चालन भएका विद्यालय बाहेक सबै विद्यालयहरू प्रविधिमैत्री भएको शिक्षा शाखा दुधौलीले दावी गरेको छ ।

नगर कार्यपालिकाको हलमा आयोजित कार्यक्रममा कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारूको प्रमुख आतिथ्यमा विद्यालयहरूलाई एक–एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरिएको हो । विद्यालयका प्रधानाध्यापकहरूको नियमित बैठक सँगै पश्चात् आयोजना गरिएको थियो ।
पालिकाको निर्णय अनुसार समायोजन पश्चात् बाँकी रहेका ७० वटा सामुदायिक विद्यालयहरूमा प्रविधि हस्तान्तरण गरिएको हो । “ नगरपालिका अन्तर्गतका विद्यालयहरूमा कम्प्युटर, प्रिन्टर र इन्टरनेट जस्ता आधारभूत आईसीटी सेवाहरू उपलब्ध भइसकेका छन्,” शाखा प्रमुख विश्वकर्माले बताउनु भयो ।
दुधौली एफ.एमं संग कुराकानी गर्नु हुँदै कार्यवाहक नगरप्रमुख थारूले प्रविधिको प्रयोगले विद्यालय व्यवस्थापनदेखि विद्यार्थी अभिलेख व्यवस्थापन, इमिईस (EMIS), एसआईपी (SIP) निर्माण, र कार्यालय प्रशासनका कार्यहरूमा सहजता आउने विश्वास व्यक्त गर्नु भयो ।
“बिगतमा विद्यालयहरूले सामान्य जानकारी र प्रतिवेदन बुझाउन समेत हातले लेखिएका कागजपत्र लिएर आउने अवस्था थियो । अब विद्यालयमै कम्प्युटर तथा इन्टरनेट जडान भएसँगै इमेलमार्फत सम्पर्क, विद्यार्थी विवरण अद्यावधिक र प्रशासनिक कामकाज सहज हुने अपेक्षा लिएका छौँ,” कार्यवाहक नगरप्रमुख थारूले बताउनु भयो ।
यस कदमले दुधौली नगरपालिकाको शिक्षामा प्रविधिको पहुँच अभिवृद्धि गर्नुका साथै डिजिटल शिक्षाको आधारशिला तयार गरेको शिक्षा शाखाको विश्वास रहेको छ ।
