दुधौली एफ.एम. सम्वाददाता
दुधौली, सिन्धुली – २०८२ जेठ २२ गते
नेपाल सरकार, गृह मन्त्रालयको निर्णय र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालज्यू मधेस प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, जनकपुर, धनुषाबाट सरुवा भई बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीमा पदस्थापना हुनुभएको छ।
उहाँले २०८२ साल जेठ २२ गते केन्द्रको समादेशकको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहणपश्चात् उहाँले अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा माल्यार्पण गर्नुभएको थियो।

त्यस पश्चात् आयोजित एक विशेष कार्यक्रममा उहाँले केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभयो। निर्देशनमा उहाँले अनुशासन, कर्तव्यपरायणता र तालिमको गुणस्तर अभिवृद्धिमा जोड दिनु हुँदै सबैलाई सक्रिय र प्रतिबद्ध भएर कार्य गर्न आह्वान गर्नुभयो।
सो अवसरमा केन्द्रका निमित्त समादेशक प्रहरी निरीक्षक देवेन्द्र दास ज्यूले केन्द्रको प्रशासनिक, तालिमसम्बन्धी तथा अन्य गतिविधिहरू समेटिएको प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा केन्द्रमा कार्यरत सिनियर र जुनियर प्रहरी अधिकृतहरू तथा सम्पूर्ण प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।