प्रतिमा बि.सी.
सिन्धुली, असार ४ – किसानको जीवनस्तर उकास्न उद्देश्यले दुधौली नगरपालिका वडा नम्बर ९ का किसानहरूलाई उन्नत जातको बिउ बोका र पाठी वितरण गरिएको छ। दुधौली नगरपालिका र हेफर नेपालको लागत साझेदारी तथा हेण्डस नेपालको समन्वयमा आज एक कार्यक्रमको आयोजना गर्दै बिउ पाठी वितरण गरिएको हो।

कार्यक्रम दुधौली नगरपालिका–९ को लखनपुर र कट्टि लखनपुर क्षेत्रका दनुवार समुदायमा क्रियाशील महिला समूहलाई लक्षित गरिएको थियो। सूर्यमुखी कृषि तथा पशु विकास महिला स्वावलम्बी समूहको अध्यक्षता निलम कुमरले गर्दै कार्यक्रम सम्पन्न गरिएको हो भने प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष देवप्रसाद अधिकारी रहेका थिए। समूहमा आबद्ध २० जना महिला सदस्यलाई जनही २ वटाका दरले कुल ४० वटा उन्नत जातका बिउ पाठी वितरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले परम्परागत पशुपालन प्रणालीलाई सुधार गर्दै आधुनिक, वैज्ञानिक र व्यवसायिक पद्धतिमा रूपान्तरण गर्नु आवश्यक रहेको बताए। “हाम्रो पुर्खाले पशु सेवा गर्दै आएका थिए, तर अब समय अनुसार आधुनिक र उन्नत जातका पशु तथा उचित आहार व्यवस्थापनमार्फत व्यवसायिक ढंगले अघि बढ्नुपर्छ,” उनले भने। साथै उनले महिलाहरूको घरायसी समयपछिको खाली समयलाई आयआर्जनमा बदल्ने लक्ष्यले कार्यक्रम संचालन गरिएको जानकारी दिए।

त्यसैगरी, हेण्डस नेपालका प्रोजेक्ट हेड रोहित कुमार ढकालले परम्परागत ज्ञान र सीपलाई परिस्कृत शैलीमा सिकाउँदै व्यवहारमा उतार्ने प्रयास गरिएको उल्लेख गरे।
बिउ पाठी पाएपछि खुसी भएका महिलाहरूले वितरण भएका पाठीहरूलाई स्याहार–सुसार गरेर आगामी दिनमा आफ्नै समूहका अन्य महिलाहरुलाई हस्तान्तरण गर्न उत्साहित रहेको बताए।
कार्यक्रममा वडा नम्बर ९ का जनप्रतिनिधि, हेण्डस नेपालका पदाधिकारी, समूहमा आबद्ध महिलाहरू, स्थानीय समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
