दुधौली एफ.एम. सम्बाददाता
असार १०
सिन्धुली/ सिन्धुलीको तीनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८० करोड ६८ लाख ८१ हजार ६ सय ६० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८ औँ अधिवेशनअन्तर्गत बुधबार सम्पन्न पहिलो बैठकमा गाउँपालिकाले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै विकास, सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ।

तीनपाटन गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरको सभाध्यक्षतामा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। अध्यक्ष मगरले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता र नागरिकमैत्री शासन प्रणालीलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
बैठकमा गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी ‘अशोक’ले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल आय–व्यय अनुमान, विनियोजन विधेयक, २०८३ तथा आर्थिक विधेयक, २०८३ सभासमक्ष प्रस्तुत गरेका छन्। गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८० करोड ६८ लाख ८१ हजार ६ सय ६० रुपैयाँको बजेट प्रस्ताव गरेको हो। प्रस्तुत नीति, कार्यक्रम, बजेट तथा सम्बन्धित विधेयकहरूमाथि गाउँसभा सदस्यहरूबीच आवश्यक छलफल गरी आगामी बैठकबाट पारित गर्ने कार्यसूची तय गरिएको गाउँपालिकाले जनाएको छ।

अधिवेशनको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ। शैक्षिक सत्र २०८२ मा कक्षा ८ को परीक्षामा सहभागी भई सामुदायिक विद्यालयतर्फ सर्वाधिक अंक प्राप्त गरेका श्री भवानी माध्यमिक विद्यालय, भीमस्थानका अर्जुन जोगी र श्री माध्यमिक विद्यालय, मझुवादोभानकी प्रेरणा पहाडीलाई गाउँपालिकाले एक–एक थान ल्यापटप प्रदान गरी सम्मान गरेको छ। गाउँपालिकाले यस सम्मानबाट विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास भई थप उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

त्यसैगरी आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट सेवा प्रदान गरेका सात जना कर्मचारीलाई पनि सम्मान तथा पुरस्कृत गरिएको छ। सम्मानित हुनेहरूमा सब–इन्जिनियर नरमाया तामाङ, प्राविधिक सहायक तथा वडा सचिव वीरेन्द्र केसी, रोजगार प्राविधिक नवीन सिदाली, सहायक कम्प्युटर अपरेटर अभिषेक मानन्धर, अ.हे.व. करिष्मा कुमारी पूर्वछाने, कार्यालय सहयोगी कल्पना कुमारी मगर तथा हलुका सवारी चालक ज्ञानबहादुर रुवाले मगर रहेका छन्।
उनीहरूलाई गाउँपालिकाको समग्र कार्यसम्पादनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आधा महिनाको तलब बराबरको नगद पुरस्कार र सम्मानपत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
