दुधौली एफएम सम्बाददाता
सिन्धुली/ लागुऔषध दुर्व्यसन नविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित कमला बहुमुखी क्याम्पसमा सचेतनामूलक र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
लागुऔषधविरुद्ध सञ्चालन भइरहेको सप्ताहव्यापी अभियानअन्तर्गत आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय डकाहाका प्रमुख प्रहरी निरीक्षक सपना खड्काको नेतृत्वमा प्रहरी चौकी दुधौली र ट्राफिक प्रहरी पोस्ट दुधौलीको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा कमला बहुमुखी क्याम्पस तथा लिटिल फ्लावर इङलिस बोर्डिङ स्कुलका विद्यार्थी, शिक्षक तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले सन्देशमूलक ब्यानर तथा प्लेकार्डसहित दुधौली बजार परिक्रमा गरेका थिए।
र्यालीपछि कमला बहुमुखी क्याम्पसको सभाहलमा अन्तरक्रिया तथा सचेतनामूलक सत्र सञ्चालन गरिएको थियो। कार्यक्रममा लागुऔषधको प्रयोगबाट व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असर, यसको रोकथामका उपाय तथा युवाहरूको जिम्मेवारीबारे जानकारी प्रदान गरिएको थियो।

सचेतना कार्यक्रमलाई सहजीकरण गर्नु हुदै प्रहरी निरीक्षक खड्काले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने यसको लागि अभिभावक, शैक्षिक संस्था, स्थानीय तह तथा समुदायको साझा सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाले कार्यक्रममा सहभागी युवाहरूलाई कुलतबाट टाढा रहँदै सकारात्मक गतिविधिमा संलग्न हुन र अरु साथीहरूलाई पनि आग्रह गर्न अनुरोध गर्नु भयो।
भारतसँगको खुला सीमाना र सहज आवतजावतका कारण मधेश प्रदेशसँग जोडिएको दुधौली क्षेत्र लागुऔषध ओसारपसार तथा दुर्व्यसनको जोखिममा रहेको भन्दै स्थानीय सरोकारवालाहरूले समेत चिन्ता व्यक्त गर्दै आएका छन्। पछिल्लो समय इलाका प्रहरी कार्यालय डकाहाले लागुऔषध नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै सचेतना तथा निगरानीका गतिविधि तीव्र बनाएको छ।
आजबाट सुरु भएको युवा लक्ष्यित कार्यक्रम पालिकाको विभिन्न माध्यमिक बिद्यालयमा हुने इलाका प्रहरी कार्यालयका प्रमुख खड्काले बताउनु भयो ।
