दुधौली एफ.एम. सम्वाददाता
सिन्धुली / दुधौली नगरपालिका वडा नं. ४ को प्रायोजन तथा न्यू शिव शक्ति युवा क्लबको आयोजनामा आजदेखि वडा कप प्रतियोगिता–२०८३ सुरु भएको छ। डकाहा खेल मैदानमा आयोजित एक औपचारिक समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको हो।
नगर खेलकुद विकास समितिका अध्यक्ष रामशरण थापाको प्रमुख आतिथ्यता तथा वडा नं. ४ का वडा अध्यक्ष रित बहादुर बिकको सभाध्यक्षतामा प्रतियोगिताको शुभारम्भ गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर खेलकुद विकास समितिका अध्यक्ष थापाले दुधौली नगरपालिकामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको मेयर कप प्रतियोगिता यस वर्ष पनि छिट्टै आयोजना गरिने जानकारी दिए। उनले दुधौली नगरपालिकालाई खेलकुदको हबका रूपमा परिचित गराउने लक्ष्यसहित काम भइरहेको बताए।
थापाले दुधौली नगरपालिकाको भौगोलिक विविधताजस्तै खेलकुद क्षेत्रमा पनि विविधता रहेको उल्लेख गर्दै सबै खेल विधाको विकासमा नगरपालिकाले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी वडा अध्यक्ष रित बहादुर बिकले दुधौली नगरपालिका सबै खेल विधाको सम्भावना बोकेको क्षेत्र भए पनि फुटबलमा अझ बढी सम्भावना रहेको बताए। उनले दुधौलीका सबै वडामध्ये वडा नं. ४ ले पछिल्ला केही वर्षयता राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न थालेको भन्दै आफू अत्यन्त हर्षित भएको बताए।
प्रतियोगितामा दुधौली नगरपालिकाका विभिन्न वडाका टोली तथा स्थानीय क्लबहरूको सहभागिता रहेको छ। सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक ‘ए’ र वडा नं. ५ बीच प्रतिस्पर्धा हुनेछ। यस्तै अन्य खेलहरूमा ब्रर्दश एफ.सी. र पत्रीङ्गा एफ.सी., वडा नं. ६ र वडा नं. १० तथा आयोजक ‘बी’ र गिजियानी एफ.सी. बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।
प्रतियोगिताको फाइनल खेल वैशाख ६ गते दिउँसो २ बजे हुने आयोजकले जनाएको छ। युवाहरूमा अनुशासन, भाइचारा तथा खेल प्रतिभा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको न्यू शिव शक्ति युवा क्लबले जनाएको छ।
स्थानीय खेलप्रेमी तथा दर्शकहरूको उल्लेखनीय उपस्थितिमा प्रतियोगिता सुरु भएको छ। आयोजकले सम्पूर्ण खेलप्रेमीलाई मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।
