दुधौली एफएम सम्बाददाता
दुधौली— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीको दुधौली नगरपालिकामा बुधबार छापा मारी विभिन्न महत्वपूर्ण कागजात बरामद गरेको छ।
नगरपालिकाका विभिन्न विषयमा अख्तियारमा धेरै उजुरी परेपछि पुस महिनाको बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले छापा मारेको हो। स्रोतका अनुसार शिक्षामा भएको अनियमितता, शिक्षक पदपूर्तिका लागि लिइएको परीक्षामा प्रश्नपत्र बाहिरिएको विषय, साथै खरिद तथा भुक्तानी प्रक्रियामा अनियमितता भएको आरोपमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो।
अख्तियारले नेतृत्व तहकै अधिकारीहरू सम्मिलित टोली खटाएर नगरपालिकामा छापा मारेको बताइएको छ। छापाका क्रममा नगरपालिकाका महत्वपूर्ण फाइलहरू सिलबन्दी गरी बरामद गरिएको स्रोतले जनाएको छ।
टोलीले विभिन्न विकास आयोजनासँग सम्बन्धित ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन तथा खरिद प्रक्रियासँग सम्बन्धित कागजातहरूको प्रतिलिपि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार दुधौली नगरपालिकामा खरिद तथा भुक्तानी प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेकाले सोही आधारमा थप अनुसन्धान अघि बढाइएको हो।
