दुधौली एफएम सम्बादाता
दुधौली / सिन्धुलिको दुधौली नगरपालिका वडा नं. ७ निवासी स्वर्गीय विवेक क्षेत्रीको भारतको गोवामा दुर्घटनामा परी असामयिक निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दुधौली नगरपालिकाले शववाहन सेवा सम्बन्धी विषयमा उत्पन्न सार्वजनिक चासोप्रति आत्मआलोचना सहित क्षमायाचना गरेको छ।
दुधौली नगरपालिका नगर कार्यपालिकाको कार्यालयले जारी गरेको विज्ञप्तिमा स्व. विवेक क्षेत्रीको निधनले नगरवासीलाई मर्माहत बनाएको उल्लेख गर्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
दुधौली नगरपालिकाको नगर प्रवक्ता दिपक खड्काको हस्ताक्षर भएको विज्ञप्तिमा मृतकको पार्थिव शरीर घरदेखि घाटसम्म लैजान शववाहन उपलब्ध गराइदिन नगरपालिकासँग माग गरिएको विषयले सार्वजनिक चासो र गम्भीर संवेदना उत्पन्न गरेको स्वीकार गरिएको छ। नगरपालिकाका अनुसार विगतमा दुधौली नगरपालिकामा घरदेखि घाटसम्म शववाहन प्रयोग गर्ने परम्परा नरहेको र यसपटक पहिलोपटक विपद् व्यवस्थापन संयन्त्रमार्फत उक्त सेवा माग गरिएको थियो।
घटनाको संवेदनशीलता र मानवीय पक्षलाई पर्याप्त रूपमा सम्बोधन गर्न तत्काल निर्णय प्रक्रियामा केही व्यवहारिक तथा प्रक्रियागत अस्पष्टता देखिन गएको जनाउँदै नगरपालिकाले अपेक्षित संवेदनशीलता देखाउन नसकिएकोप्रति आत्मआलोचना सहित क्षमायाचना गरेको छ।
नगरपालिकाले नागरिकका “गर्भदेखि घाटसम्म” सेवा प्रवाह गर्ने राज्यको मूल भावना र जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै यस घटनाबाट पाठ सिकेर आगामी दिनमा यस्ता दुःखद तथा संवेदनशील अवस्थामा छिटो, मानवीय र प्रभावकारी सेवा प्रवाह गर्न स्पष्ट कार्यविधि र समन्वय प्रणाली विकास गरिने प्रतिबद्धता जनाएको छ।
साथै, विज्ञप्तिमा नेपालका जुनसुकै भूभागमा निधन भएका दुधौलीवासी तथा दुधौली नगरपालिकाभित्र निधन भएका अन्य पालिकाका नागरिकहरूलाई आवश्यकता अनुसार अस्पताल तथा मृतकको घरसम्म दुधौली नगरपालिकाको शववाहनले निरन्तर सेवा प्रदान गर्दै आएको समेत उल्लेख गरिएको छ।
यस घटनाका कारण कुनै पनि नागरिक, परिवारजन वा समुदायको भावनामा चोट पुगेको भए पुनः क्षमाप्रार्थना गर्दै दुधौली नगरपालिका आगामी दिनमा अझ बढी संवेदनशील, जिम्मेवार र नागरिकमैत्री प्रशासन निर्माणतर्फ अग्रसर रहने विश्वास दिलाइएको छ।