दुधौली एफएम सम्वाददाता
दुधौली, — ‘सिप सिकौँ, उद्यमी आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले दुधौली नगरपालिका–४ स्थित श्री सरस्वती क्याम्पस डकाहामा १५ दिने आधारभूत फोटो र भिडियो तालिमको औपचारिक उद्घाटन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विश्वम्वर अधिकारी रहनु भएको थियो । उनले शिक्षासँगै जीवन उपयोगी सीप सिकाउने आवश्यकता बढ्दो रहेको उल्लेख गर्दै फोटो–भिडियोजस्ता डिजिटल सीपले व्यक्तिगत क्षमता विकाससँगै आर्थिक र व्यवसायिक अवसरहरू पनि सिर्जना गर्ने बताउनु भयो । आधुनिक डिजिटल युगमा दृश्य–सञ्चारको भूमिकालाई अत्यन्त महत्वपूर्ण भन्दै उहाँले विद्यार्थीलाई यसलाई अवसरको रूपमा लिन आग्रह गर्नु भयो ।

विशिष्ट अतिथि उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका कार्यालय प्रमुख ध्रुव ढकालले युवाहरूलाई रोजगारी र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले कार्यालयले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनु भयो । सिन्धुलीमा पहिलोपटक फोटो तथा भिडियो विषयक आधारभूत तालिम दुधौलीका दुई क्याम्पसमा सञ्चालन हुन लागेको जानकारी दिँदै उहाँले विद्यार्थीहरूलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरे।
१५ जना सहभागी रहेको तालिमको सहजीकरण राष्ट्रिय फोटोपत्रकार समूह (NFpJ) सिन्धुलीका अध्यक्ष उदव कुमार श्रेष्ठले सहजीकरण गर्नु हुने भएको छ ।।
