दुधौली न्युज सम्वाददाता
२२ चैत्र २०८१
दुधौली, – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका छन्। यसअघि धर्ना र अनशनसहित विभिन्न आन्दोलनका कार्यक्रम गरे पनि माग सम्बोधन नभएपछि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका हुन्।
यस आन्दोलनमा सिन्धुलीको दुधौली नगरपालिकाका शिक्षकहरू अग्रपंक्तिमा रहेका छन्। शिक्षण पेसामा सभ्यता र अनुशासन आवश्यक रहेको बताउँदै उनीहरूले शान्तिपूर्ण तर प्रभावकारी आन्दोलन गरिरहेका छन्। काठमाडौं महानगरका मेयर बालेन साहले पनि शिक्षकहरूको आन्दोलनको प्रसंशा गरेका छन्।

सिन्धुलीको दुधौलीबाट मात्रै करिब १५० शिक्षक स्वस्फूर्त रुपमा आन्दोलनमा सहभागी भएका छन्। दुधौली शिक्षक महासंघका अध्यक्ष रमेश गौतमका अनुसार यस पटकको आन्दोलनमा पहिलेजस्तो बहुपक्षीय माग नभएर मुख्य रूपमा विद्यालय शिक्षा ऐन जारी गराउने लक्ष्य राखिएको छ।

“शिक्षा ऐन नआएसम्म हामी संघर्षरत रहनेछौं। हामी शिक्षकहरू हाम्रो हकहितका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं,” गौतमले भने।

शिक्षकहरूको यो आन्दोलनले सरकारलाई कति दबाब दिन सक्छ र विद्यालय शिक्षा ऐन जारी गराउन सफल हुन्छ वा हुँदैन, त्यो हेर्न भने बाँकी छ।