दुधौली एफ.एम.सम्बाददाता
सिन्धुली / गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत दुधौली नगरपालिकाले स्थानीय लघु उद्यमीहरूको उत्पादन क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले प्रविधि हस्तान्तरण तथा आवश्यक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारु, वडा नं. ९ का वडा अध्यक्ष देवप्रसाद अधिकारी दनुवार, उद्यम विकास उपशाखा प्रमुख किरणजङ्ग भुजेल, शाखाकी कर्मचारी निर्जला राना मगर तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत दुधौली नगरपालिका–१ स्थित राधा साबुन उद्योग लाई ८० प्रतिशत अनुदान र २० प्रतिशत स्वलगानीको आधारमा उत्पादनमा आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। उद्योगलाई ५०० मिलिलिटर र १ लिटर क्षमताका मेजरिङ जग, साना तथा ठूला आकारका सादा र बुट्टेदार फर्मा, बाल्टिन, प्लन्जर लगायतका सामग्री उपलब्ध गराइएको उद्यम विकास उपशाखाले जनाएको छ।

त्यसैगरी, दुधौली नगरपालिका–९ मा सञ्चालित न्यु रमिता झोला उद्योग लाई एक थान सिलाइ मेसिन, एक थान कैँची तथा एक थान सोकेस र्याक प्रदान गरिएको छ। यी सामग्रीले उद्योगको उत्पादन तथा बजार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै, दुधौली नगरपालिका–८ स्थित चन्द्रमुखी फाइबर उद्योग लाई एक थान स्टिल दराज र एक थान स्टिल र्याक हस्तान्तरण गरिएको छ। उक्त सामग्रीले उद्योगको व्यवस्थापन तथा उत्पादन प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको यस प्रविधि हस्तान्तरण कार्यक्रमले स्थानीय उद्यमीहरूको सीप, उत्पादन क्षमता र आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमअन्तर्गत उपलब्ध गराइएका सामग्रीमा ८० प्रतिशत अनुदान तथा २० प्रतिशत उद्यमीको स्वलगानी रहने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।
