दुधौली एफएम संवाददाता
दुधौली, सिन्धुली / सिन्धुलीको दुधौली नगरपालिका–४ डकाहास्थित इलाका प्रहरी कार्यालयले पछिल्लो समय लागूऔषध नियन्त्रण, जनचेतनामूलक अभियान, बालअधिकार संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा सक्रियता बढाएसँगै स्थानीय समुदायमा प्रहरीप्रतिको विश्वास र भरोसा बढ्दै गएको छ। प्रहरी निरीक्षक सपना खड्काले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि दुधौली नगरपालिका र तीनपाटन गाउँपालिका क्षेत्रमा प्रहरीले सञ्चालन गरेका गतिविधिहरू प्रभावकारी बन्दै गएको भन्दै स्थानीयवासीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्।

इलाका प्रहरी कार्यालय डकाहाले विशेषगरी लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै नियमित तथा आकस्मिक निगरानी र चेकजाँच अभियानलाई तीव्रता दिएको छ। प्रहरी निरीक्षक सपना खड्काको नेतृत्वमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडासँगको समन्वयमा मदन भण्डारी राजमार्गका विभिन्न स्थानमा तालिमप्राप्त (स्निफर) कुकुरको प्रयोग गरी लागूऔषध सम्बन्धी विशेष चेकजाँच तथा निरीक्षण अभियान सञ्चालन गरिएको थियो। लागूऔषध नियन्त्रणका क्षेत्रमा प्रहरीले देखाएको सक्रियताले अभिभावक तथा स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह भएको बताइएको छ।

यसैबीच, लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले दुधौली नगरपालिका–९ स्थित कमला बहुमुखी क्याम्पसमा सचेतनामूलक र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। सप्ताहव्यापी लागूऔषधविरुद्ध अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय डकाहाका प्रमुख प्रहरी निरीक्षक सपना खड्काको नेतृत्वमा प्रहरी चौकी दुधौली तथा ट्राफिक प्रहरी पोस्ट दुधौलीको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा कमला बहुमुखी क्याम्पस र लिटिल फ्लावर इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी, शिक्षक तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन्देशमूलक ब्यानर तथा प्लेकार्डसहित दुधौली बजार क्षेत्रमा र्याली प्रदर्शन गरेका थिए।
र्यालीपश्चात् कमला बहुमुखी क्याम्पसको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा लागूऔषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव, यसको रोकथामका उपाय तथा युवाहरूको भूमिकाबारे जानकारी प्रदान गरिएको थियो।
त्यसैगरी, असार १३ गते दुधौली नगरपालिका–४ का वडा अध्यक्ष रितबहादुर विश्वकर्मा, वडा सचिव मधुसूदन, बाल क्लबका प्रतिनिधिहरू तथा इलाका प्रहरी कार्यालय डकाहाको संयुक्त टोलीले डकाहा बजार क्षेत्रका होटल तथा पसलहरूमा बालश्रमविरुद्ध अनुगमन गरेको थियो। उक्त अनुगमनमार्फत बालश्रम न्यूनीकरण तथा बालअधिकार संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको प्रहरीले जनाएको छ।
यसअघि, असार १२ गते डकाहास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा प्रहरी निरीक्षक सपना खड्काले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराधका विभिन्न स्वरूप तथा त्यसबाट बच्ने उपायबारे जानकारी गराउनुभएको थियो।
इलाका प्रहरी कार्यालय डकाहाले विपद् व्यवस्थापन तथा उद्धार तयारीलाई समेत प्राथमिकतामा राखेको छ। प्रहरी निरीक्षक सपना खड्काको कमाण्डमा १३ जना प्रहरी कर्मचारीहरूको टोलीले दुधौली नगरपालिका–४ अन्तर्गत कमला खोलामा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी अभ्यास सम्पन्न गरेको थियो। उक्त अभ्यासले सम्भावित प्राकृतिक विपद्का बेला प्रभावकारी उद्धार तथा राहत कार्य सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लागूऔषध नियन्त्रण, बालश्रम अनुगमन, साइबर अपराधसम्बन्धी जनचेतना तथा विपद् व्यवस्थापन अभ्यासजस्ता विविध क्षेत्रमा इलाका प्रहरी कार्यालय डकाहाले देखाएको सक्रियताप्रति स्थानीय समुदायले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। स्थानीयवासीका अनुसार प्रहरी र समुदायबीचको सहकार्य अझ सुदृढ हुँदै जाँदा क्षेत्रमा सुरक्षा र विश्वासको वातावरण थप मजबुत हुने अपेक्षा गरिएको छ।
