ग्रीष्मा दियाली
दुधौली/ दुधौली नगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ (ढुंगा, गिट्टी र बालुवा) को उत्खनन तथा संकलन कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तद्वारा जारी सूचनाअनुसार ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ (पहिलो संशोधन) को दफा ६ उपदफा १६ बमोजिम प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ।
सोही कानुनी व्यवस्था अनुसार दुधौली नगरपालिका क्षेत्रभित्र रहेका नदी तथा खोलाबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा संकलन कार्य आगामी भदौ मसान्तसम्मका लागि पूर्ण रूपमा रोकिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले जारी गरेको सूचनाको उल्लंघन गरी तोकिएको अवधिमा नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन वा संकलन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।
वर्षायाममा नदीको प्राकृतिक बहाव संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न तथा सम्भावित प्राकृतिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष यस अवधिमा नदीजन्य पदार्थ उत्खननमा रोक लगाइँदै आएको छ।
