जुना कार्की
दुधौली / कमला नदीको सतह गहिरिँदै जाँदा सिँचाइ कुलोमा पानी नचढेको भन्दै दुधौली नगरपालिका–१ र २ अन्तर्गत पर्ने रतनपुर मौजाका किसानहरूले शुक्रबार दुधौली नगरपालिका घेराउ गरेका छन्। वर्षौंदेखि सिँचाइ समस्याबारे सम्बन्धित निकायलाई मौखिक रूपमा जानकारी गराउँदै आए पनि कुनै सुनुवाइ नभएको गुनासो गर्दै स्थानीय किसानहरूको टोली नगरपालिका पुगेको हो। किसानहरूले धान रोपाइँको मुख्य समयमा खेतमा पानी पुर्याउन नसक्दा कृषि उत्पादनमा गम्भीर असर परेको बताएका छन्।
किसानहरूको विरोधपछि दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल भएको थियो। छलफलपछि आगामी असार १ गते सोमबार नगर प्रमुखसहित जनप्रतिनिधि र प्राविधिकहरूको टोलीले समस्याग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्ने तथा आवश्यक बजेट व्यवस्थापन र दीर्घकालीन समाधानका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ।
स्थानीयका अनुसार कमला नदीबाट वर्षौंदेखि जथाभावी गिट्टी, ढुंगा र बालुवा उत्खनन गरिँदा नदीको सतह अत्यधिक तल गएको छ। नदीको सतह भासिएपछि सिँचाइ कुलोमा पानी प्रवेश हुन छाडेको र त्यसको प्रत्यक्ष असर खेतीपातीमा परेको उनीहरूको भनाइ छ।
स्थानीयवासीले वातावरणीय प्रभाव मूल्याङ्कन तथा दीर्घकालीन अध्ययनबिना नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिइएको आरोप लगाएका छन्। यसले नदीको प्राकृतिक स्वरूपमा परिवर्तन आउँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित हुनुपरेको उनीहरूको दाबी छ।
करिब १२० बिघा खेतीयोग्य जमिन रहेको रतनपुर मौजामा ९७ घरधुरी किसान आश्रित छन्। सिँचाइ अभावका कारण धानसहित अन्य अन्नबाली उत्पादनमा समस्या उत्पन्न भएको किसानहरूले बताएका छन्। प्रदेश र संघीय सरकारबाट समेत समस्या समाधानमा चासो नदेखाइएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
किसानहरूले तत्काल कुलोमा पानी पुर्याउने व्यवस्था गर्न र कमला नदीको अनियन्त्रित उत्खनन रोक्न माग गरेका छन्। उनीहरूले नदी व्यवस्थापन, तटबन्ध तथा सिँचाइ संरचनाको दीर्घकालीन सुधारमार्फत मात्रै समस्याको स्थायी समाधान सम्भव हुने बताएका छन्।
