दुधौली एफएम सम्वाददाता
सिन्धुली, चैत ११ – ‘हो! हामी क्षयरोग अन्त्य गर्न सक्छौं: लगानीको प्रतिवद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने नाराका साथ सिन्धुलीको दुधौलीमा विश्व क्षयरोग दिवस २०२५ मनाइएको छ।
दुधौली नगरपालिका वडा नम्बर ८ स्थित लदाभिर स्वास्थ्य चौकीको सभाहलमा आयोजित कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष केशव बरालको अध्यक्षतामा अभिमुखीकरण, समुदाय परिचालन तथा माइक्रोस्कोपिक क्याम्प सञ्चालन गरिएको थियो।
कार्यक्रममा वडा नम्बर ७ र ८ का जनप्रतिनिधिहरू, टोल सुधार समिति पदाधिकारी, वडा सचिव, स्वास्थ्यकर्मी, स्वयंसेवक, सञ्चारकर्मी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय, सिन्धुलीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम पुष्पराज पन्तको संयोजकत्वमा सम्पन्न भएको हो।
कार्यक्रममा क्षयरोग रोकथाम, उपचार र समुदायस्तरमा सचेतना अभिवृद्धिका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले क्षयरोग न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता जनाउँदै सरकारले आवश्यक लगानी र सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए।