दुधौली एफ.एम सम्वाददाता
दुधौली — २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा दुधौली नगरपालिका वडा नं. १० स्थित सहिद स्मृति पार्कमा रहेको शिखर शान्ति बौद्ध बिहारको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दुधौली नगर शाखा तदर्थ समिति र नेपाल रेडक्रस सोसाइटी दुधौली उपशाखाको समन्वयमा सम्पन्न भएको हो भने आकस्मिक रक्तसञ्चार केन्द्र, सिन्धुलीले प्राविधिक सहयोग प्रदान गरेको थियो।
विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा दुधौली नगरपालिकाभित्रका विभिन्न समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानवीय सेवामा महत्वपूर्ण योगदान दिएका छन्।

कार्यक्रमका क्रममा रक्तदान गर्ने सबै सहभागीहरूलाई प्रशंसा पत्र (प्रमाणपत्र) प्रदान गरिएको थियो। साथै, बौद्ध परम्परा अनुसार लामा गुरुबाट शुभ–आशीर्वाद ग्रहण गर्ने अवसर समेत मिलाइएको थियो, जसले कार्यक्रममा आध्यात्मिक महत्व थपेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार, यस्ता कार्यक्रमहरूले समाजमा मानवीय सेवा, सहकार्य र सद्भावको भावना अभिवृद्धि गर्नुका साथै आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीय स्तरमा आयोजित यस कार्यक्रमले बुद्ध जयन्तीको सन्देश — शान्ति, करुणा र मानव सेवाको भावनालाई व्यवहारमा उतार्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।
