दुधौली एफएम सम्बाददाता
सिन्धुली / विना बिल भारतिय तथा इटालियन कपडा लुकाइछिपाइ ढुवानी गर्दै गरेको प्याज लोड ट्रकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रकबाट करिब ४१ लाख ६३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
आज पौष १० गते बिहान करिब ९ बजे, सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानस्थित वि.पि. राजमार्गमा रहेको चेकपोष्टमा इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक राजु के.सी. खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दीबासबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.२–०४–००१ ख ००६१ नम्बरको ट्रकलाई शंकाको आधारमा रोकी जाँच गरेको थियो।

ट्रक पूर्ण रूपमा खोली जाँच गर्दा भन्सार गरी ल्याइएको प्याजका बोराले घेरी विल नभएका भारतिय तथा इटालियन कम्पनीका सुतीका थान कपडा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेका थिए। बरामद सामानसहित ट्रकलाई इलाका प्रहरी कार्यालय भिमानमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
बरामद सामानको विवरण अनुसार बिल भएको प्याज २३० बोरा (जम्मा मूल्य रु ४ लाख ८० हजार) सहित पुनित कम्पनीका ४९ रोल, डोनातेला कम्पनीका २० रोल र भिमल, कम्पनीका ३० रोल सुतीका थान कपडा बरामद गरिएको हो। कपडाको कुल मूल्य रु १६ लाख ८३ हजार ६४० रहेको छ भने ट्रकको मूल्य रु २० लाख आँकलन गरिएको छ।
यसरी ट्रकसहित बरामद सम्पूर्ण सामानको कुल मूल्य रु ४१ लाख ६३ हजार ६४० बराबर रहेको प्रहरीले जनाएको छ।
