दुधौली एफएम सम्बाददाता
वाहिरिएको प्रश्न पत्रहरु वाहिरिएको प्रश्न पत्रको तस्विर तल दिएको छ ।
दुधौली, २८ मंसिर । सिन्धुलीको दुधौली नगरपालिका–१२ अन्तर्गतका तीन वटा सरकारी विद्यालयमा आवश्यक शिक्षक छनोटका लागि लिइएको लिखित परीक्षाको प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै बाहिरिएको गम्भीर तथ्य सार्वजनिक भएको छ।

आज सोधिएको प्रश्न पत्र
दुधौली नगरपालिका वडा नम्बर १२ स्थित सन्तोशी आधारभूत विद्यालय, बुङबुङे, जनसेवी आधारभूत बिद्यालय गैरी थाप्ले तथा पुुष्प ज्योति आधारभूत बिद्यालय अमृसेका लागि नयाँ शिक्षक पदपूर्तिका लागि आज नगर शिक्षा शाखाले लिखित परीक्षा सञ्चालन गरेको थियो। तर परीक्षा सुरु हुनु अगावै परीक्षार्थी शिक्षकहरूको मोबाइलमा प्रश्नपत्र प्राप्त भएको प्रमाण बाहिरिएपछि घटनाले गम्भीर रूप लिएको हो।

अउट भएको सोधिने प्रश्न पत्र
स्थानीयका अनुसार परीक्षा सञ्चालनमा संलग्न विज्ञमार्फत परीक्षार्थीहरूलाई मोबाइलमै पठाइएको भनिएको प्रश्नपत्र र आज परीक्षामा सोधिएका प्रश्नहरू दुरुस्त रूपमा मिलेको देखिएको छ। यसले शिक्षक छनोट प्रक्रियाको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
आज सञ्चालन भएको परीक्षामा श्री माध्यमिक विद्यालय भलुवाहीका प्रधानाध्यापक संजय तिवारी र माध्यमिक विद्यालय सिर्थौलीका प्रधानाध्यापक रमेश गौतम बिषय विज्ञको भूमिकामा रहेका थिए। तर घटनासम्बन्धी विषय सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएपछि शिक्षा शाखा दुधौलीका शाखा प्रमुख हरि विक तथा प्रधानाध्यापक रमेश गौतमसँग सम्पर्क गर्न खोज्दा उनीहरूको मोबाइल फोन सम्पर्कबाहिर राखिएको पाइएको छ। पटक–पटक सम्पर्क गर्दा “सम्पर्क हुन सकेन” भन्ने अटो रेकर्ड मात्र बज्ने गरेको छ।
हाल पद अस्थायी करारअन्तर्गत चलिरहेको अवस्थामा उत्तरसहितको प्रश्नपत्र सार्वजनिक भएको आरोप लागेपछि नगर शिक्षा शाखा, दुधौली नगरपालिका तथा समग्र शिक्षा प्रणालीको जिम्मेवारी र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा भएको छ।

यदि सार्वजनिक भएका प्रश्नपत्रहरू सत्य ठहर भएमा यो केवल गैरजिम्मेवारी मात्र नभई अक्षम्य र निन्दनीय कार्य हुने स्थानीयको भनाइ छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, शिक्षक छनोट प्रक्रिया खारेज गरी पुनः पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्न सम्बन्धित निकायको यथाशीघ्र ध्यानाकर्षण गराइएको छ।
