दुधौली एफ.एम. सम्वाददाता
दुधौली, सिन्धुली — समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थाहरूमा मनो–सामाजिक सहयोग पुर्याउँदै आएका दुधौली नगरपालिकाका कार्यकर्ता आफै अन्यायमा परेको गुनासो सार्वजनिक गरेका छन्।
विगतमा १४ जना रहेको कार्यकर्ताको संख्यालाई कटौती गरी सात जनामा सीमित गरिएकोमा, बाँकी रहेका ती सात जनालाई समेत पालिकाले बिना सल्लाह अवकास दिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
मनो–सामाजिक कार्यकर्ताहरुका अनुसार, गाउँ, बस्ती र वडामा अझै पनि हिंसा निर्मूल नभइसकेको र आवाजविहीनका आवाज बनेर काम गर्दै आएका बेला आफूहरूलाई पालिकाले अन्याय गरेको छ। कार्यकर्ताहरूले एकसूत्रीय मागसहित आन्दोलनमा जाने तयारीसमेत गरेको बताएका छन्।

“हामी घर–परिवारको समस्याभन्दा पनि पीडितको दुःखलाई प्राथमिकतामा राखेर घाम–पानी नभनी काम गर्यौँ। तर पालिकाले हामी सात जनालाई निकालेर लैङ्गिक हिंसामा परेका पीडितलाई नै अन्याय गरेको छ,” दुधौली–३ की कार्यकर्ता सरिता कटुवालले भनिन्।
उनका अनुसार, पटक–पटक मौखिक, लिखित तथा औपचारिक माग राख्दा पनि जनप्रतिनिधि र कर्मचारी दुवै पक्षले एक–अर्कालाई देखाएर पन्छिन खोजेको बताए। “अब आन्दोलनमै जान परे पनि पछि हट्दैनौँ,” कटुवालले थपिन्।
दुधौली नगरपालिकामा मनो–सामाजिक कार्यक्रम प्रदेश सरकारले सेवा–सुविधासहित २०८२ साउन ९ गतेदेखि सुरु गरेको थियो। तर पछिल्ला वर्षमा प्रदेश सरकारले सुविधा बन्द गरेपछि नगरपालिकामा रहेका १४ जना कार्यकर्तालाई घटाएर सात जनामा सीमित गरिएको थियो। बाँकी रहेका सात जनालाई पनि चालु आर्थिक वर्ष २०८२/८३ देखि लिखित पत्रमार्फत अवकास दिइएको हो।
