गुणामाया मगर
काठमाडौं – नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित सुप्रभात काव्य गोष्ठी कार्यक्रम अन्तर्गत उपन्यासकार केशव घिमिरेको उपन्यास ‘रुपिका’ माथि परिचर्चा गरिनुको साथै घिमिरेलाई सम्मानसमेत गरिएको छ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष, समाजसेवी तथा साहित्यकार दिल पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्राध्यापक डा. रमेश प्रसाद भट्टराईको उपस्थिति रहेको थियो। गोष्ठीमा उपन्यास परिचर्चाका रूपमा डा. भगवान चन्द्र ज्ञवालीले विचार प्रस्तुत गर्नुभयो भने स्रष्टा विशेषमा प्राज्ञ चेतनाथ धमला र कृतिकारका रूपमा स्वयं उपन्यासकार केशव घिमिरे सहभागी थिए।
समीक्षक डा. ज्ञवालीले ‘रुपिका’ उपन्यासलाई प्रेम विषयमा आधारित भए पनि सामाजिक सन्देशले भरिएको गम्भीर कृतिका रूपमा प्रस्तुत गर्नुभयो। उहाँका अनुसार उपन्यासमा दार्शनिक चिन्तन, व्यवहारवादी दृष्टिकोण, साथै ग्रामीण समाजको रूढीवादी संरचना, विसङ्गति र जातीय भेदभाव विरुद्धको आवाजलाई प्रभावकारी रूपमा उठाइएको छ।
उपन्यासमा सिन्धुलीको कमला खोला क्षेत्र, चारकोसे झाडी, स्थानीय चाडपर्व, कृषि प्रणाली, तथा जीवनशैलीको यथार्थपरक वर्णन गरिएको उल्लेख गर्दै ज्ञवालीले भने, “रुपिका उपन्यासले एउटा शिक्षित समाजमा अझै पनि विद्यमान सामाजिक डर, दबाब र कुरीतिहरूलाई उजागर गर्न सकेको छ।”
उहाँले थप भन्नुभयो, “उपन्यास सहज भाषा शैलीमा लेखिएको हुँदा पाठकले सजिलै बुझ्न सक्छन्। समाजमा अझै पनि विवाहप्रथा, महिलाको अधिकार, र शिक्षाको महत्व जस्ता विषयहरूमा गहिरो सन्देश दिन खोजिएको छ।”
कार्यक्रममा उपन्यासकार घिमिरेको लेखनशैली, विषय चयन र सामाजिक दृष्टिकोणको प्रशंसा गर्दै उहाँका आगामी कृतिहरूमा अझ सशक्त सम्भावना रहेको विश्लेषकहरूले उल्लेख गरेका थिए। “रुपिका” केवल प्रेम कथामा सीमित नभई सामाजिक विमर्शका गहिरा तहहरू छुन सफल भएको उपन्यासका रूपमा प्रस्तुत गरिएको हो, समीक्षकहरूको धारणा थियो।
कार्यक्रममा काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौंका अग्रज तथा वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा साहित्यिक रचना वाचनसँगै उपन्यासको महत्त्वपूर्ण अंशहरूबारे बहस गरिएको थियो।
