दुधौली एफ.एम. संवाददाता
दुधौली/ दुधौली नगरपालिका–१३ स्थित कर्था खोलामा निर्माणाधीन बादरेघाट पुलको निर्माण कार्यले कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारुको कडा निर्देशनपछि उल्लेखनीय गति लिएको छ। निर्धारित समयभित्र पुल निर्माण सम्पन्न गराउने अडानसहित नगरप्रमुख थारुले निर्माण कम्पनीलाई स्पष्ट निर्देशन दिनुभएपछि निर्माण कार्यले तीव्रता पाएको हो। पुल निर्माणको जिम्मा प्राप्त साही–बीएमएम जेभी बरथहवा निर्माण कम्पनीले पछिल्ला दिनहरूमा निर्माण कार्यलाई तीव्र बनाएको छ। सोही क्रममा जेठ १८ गते पुलको मुख्य ढलान कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ।
यसअघि लगातार दुई दिनसम्म परेको अविरल वर्षाका कारण ढलानको चरणमा पुगेको पुलको केही संरचनामा क्षति पुगेको थियो। उक्त घटनापछि कार्यवाहक नगरप्रमुख थारु निर्माणस्थलमै पुगेर अनुगमन गर्नुभएको थियो। अनुगमनका क्रममा निर्माण कार्यमा देखिएको ढिलासुस्ती र लापरवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई कडा निर्देशन दिनुभएको थियो।

नगरप्रमुख थारुले पुलजस्ता जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका पूर्वाधार निर्माण कार्यमा ढिलाइ हुन नहुने उल्लेख गर्दै निर्माण कम्पनीलाई थप जिम्मेवार र उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। साथै, निर्माणको गुणस्तर कायम राख्दै असारभित्र बाँकी काम सम्पन्न गर्न आवश्यक जनशक्ति तथा उपकरण परिचालन गर्न समेत निर्देशन दिनुभएको छ।
ग्रामीण भेगका नागरिकका लागि महत्वपूर्ण मानिएको बादरेघाट पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीको आवतजावत सहज हुने, बजार, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि वर्षायाममा हुने यातायात समस्या समेत समाधान हुने विश्वास गरिएको छ।
संघीय सरकार र दुधौली नगरपालिकाको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त पुलमा ६० प्रतिशत दुधौली नगरपालिकाको तथा ४० प्रतिशत संघीय सरकारको लागत साझेदारी रहेको छ। दुधौली नगरपालिकाले रु. ४ करोड १६ लाख ८४ हजार ८ सय ५६ को लागतमा २०८१ असार १९ गते साही–बीएमएम जेभी बरथहवा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार पुल २०८३ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।
हालसम्म पुल निर्माणको करिब ६० प्रतिशत कार्य सम्पन्न भएको बताइएको छ। स्थानीयवासीले समयमै पुल निर्माण सम्पन्न गर्न माग गर्दै आएका बेला कार्यवाहक नगरप्रमुख थारुको सक्रिय अनुगमन तथा निर्देशनपछि निर्माण कार्यले अपेक्षित गति लिएको भन्दै स्थानीयवासीले समेत सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। पुल समयमै सम्पन्न भए दुधौली क्षेत्रका हजारौं नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
