दुधौली एफ एम सम्बादाता
सिन्धुली / पछिल्लो समय बालबालिकामा इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा त्यससँग जोडिएका जोखिम पनि बढ्न थालेपछि सिन्धुलीको तीनपाटन गाउँपालिकामा बालबालिकालाई लक्षित गर्दै साइबर सुरक्षा तथा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
रिलिफ नेपालको आयोजना तथा इलाका प्रहरी कार्यालय डकाहाको सहजीकरणमा तीनपाटन गाउँपालिका–चकमकेमा दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो। जेठ २ र ३ गते सञ्चालन भएको कार्यक्रममा बाल क्लबमा आबद्ध ३२ जना बालबालिकाको सहभागिता रहेको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय डकाहाका प्रमुख प्रहरी निरीक्षक सपना खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले बालबालिकालाई साइबर अपराधका सम्भावित जोखिम, सुरक्षित इन्टरनेट प्रयोग गर्ने तरिका, सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा अनलाइन माध्यमबाट हुन सक्ने ठगी र दुर्व्यवहारबाट कसरी जोगिने भन्ने विषयमा जानकारी गराएको थियो। त्यसैगरी, लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असर, लागूऔषध सम्बन्धी कानुनी व्यवस्था तथा किशोर–किशोरीहरूमा देखिने साथीहरूको दबाब (Peer Pressure) लाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि अन्तरक्रियात्मक शैलीमा सहजीकरण गरिएको थियो। कार्यक्रममा सहभागी बालबालिकालाई खुला रूपमा आफ्ना जिज्ञासा राख्ने वातावरण सिर्जना गरिएको थियो।
प्रहरी निरीक्षक सपना खड्काले प्रविधिको पहुँच बढेसँगै बालबालिका साइबर जोखिमको बढी चपेटामा पर्न सक्ने भएकाले समयमै सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकालाई सही सूचना, सुरक्षित इन्टरनेट अभ्यास र सकारात्मक संगततर्फ प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
“सामाजिक सञ्जाल र इन्टरनेट अहिले सिकाइ तथा सूचना आदान–प्रदानको राम्रो माध्यम बनेको छ, तर यसको गलत प्रयोगले बालबालिका विभिन्न जोखिममा पर्न सक्छन्,” प्रहरी निरीक्षक खड्काले भन्नुभयो, “त्यसैले साइबर सुरक्षा, आत्मरक्षा र लागूऔषधबाट टाढा रहने विषयमा बालबालिकालाई समयमै जानकारी दिन आवश्यक छ।”
रिलिफ नेपालका प्रतिनिधिहरूले बालबालिकाको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि तथा सुरक्षित वातावरण निर्माणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।
कार्यक्रममा सहभागी बालबालिकाले आफूहरूले साइबर सुरक्षा, सुरक्षित इन्टरनेट प्रयोग तथा लागूऔषधको असरबारे नयाँ ज्ञान हासिल गरेको प्रतिक्रिया दिएका थिए। उनीहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा गोपनीयता सुरक्षित राख्ने, अपरिचित व्यक्तिसँग व्यक्तिगत जानकारी साझा नगर्ने तथा गलत संगतबाट टाढा रहने विषयमा महत्वपूर्ण सिकाइ प्राप्त भएको बताएका थिए। स्थानीय स्तरमा बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रमले उनीहरूलाई जिम्मेवार, सचेत र सुरक्षित नागरिक बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
