दुधौली एफएम सम्बाददाता
सिन्धुली, दुधौली / दुधौली नगरपालिकामा युवालाई डिजिटल युगअनुकूल सीप प्रदान गर्ने उद्देश्यसहित कमला बहुमुखी क्याम्पस दुधौलीमा १० दिने आधारभूत फोटो तथा भिडियो तालिमको औपचारिक उद्घाटन गरिएको छ। ‘सिप सिकौँ, उद्यमी आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको आयोजनामा श्री कमला बहुमुखी क्याम्पस दुधौलीका विद्यार्थीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन पूर्व मन्त्री सुकु माया तामाङले औपचारिक शिक्षासँगै व्यवहारिक सीप आजको समयको अनिवार्य आवश्यकता भएको बताउनुभयो। सीपविना शिक्षा अधुरो हुने उल्लेख गर्दै उहाँले डिजिटल युगमा फोटो तथा भिडियो जस्ता सीपहरूले रोजगारी र स्वरोजगारका नयाँ अवसर सिर्जना गर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य मात्रिका भट्राईले जिल्लामा युवाहरूको रोजगारी तथा स्वरोजगार प्रवर्द्धनका लागि सीपमूलक तालिमलाई प्राथमिकता दिइएकोमा खुशी व्यक्त गर्नुभयो। दुधौलीमा सञ्चालन भएको यस तालिमले युवाहरूलाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
त्यसैगरी उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुखले जिल्लाभर विभिन्न प्रकारका सीपमूलक तालिमहरू निरन्तर रूपमा सञ्चालन हुँदै आएको जानकारी गराउनुभयो।
२५ जना सहभागी रहेको उक्त तालिमको सहजीकरण राष्ट्रिय फोटो पत्रकार समूह (NFpJ) सिन्धुलीका अध्यक्ष उदव कुमार श्रेष्ठले गरिरहेका छन्। तालिमले सहभागीहरूलाई फोटो तथा भिडियो उत्पादनसम्बन्धी आधारभूत ज्ञान र व्यवहारिक सीप प्रदान गर्ने अपेक्षा गरिएको छ।
