दुधौली एफ.एम. संवाददाता
दुधौली / नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलद्वारा हिजो सम्पन्न हाजिरीजवाफ कार्यक्रमबारे व्यापक चर्चा भइरहेको छ। शनिवार सम्पन्न उक्त कार्यक्रममा चिया-चौतारादेखि सामाजिक सञ्जालसम्म पक्ष–विपक्षका तर्कहरू राखिएका छन्।
विशेषगरी आयोजक स्वयं र नेपाली काँग्रेससँग निकट केही समूहले कार्यक्रमको प्रशंसा र बचाउ गरेका छन् भने अन्य राजनीतिक आस्था भएका समूह तथा स्वतन्त्र व्यक्तिहरूले कार्यक्रमको विरोध गरेका छन्।
विरोध गर्नेहरूका अनुसार कार्यक्रमको स्वरूप राम्रो भए पनि उद्देश्य र प्रक्रिया गलत थियो। उनीहरूले आरोप लगाएका छन् कि उक्त कार्यक्रममा स्थानीय सरकारको प्रत्यक्ष सहभागिता रहेको, पार्टीको कार्यक्रममा स्थानीय सरकारले अनुदानको रकम प्रदान गरेको र जनवर्गीय संस्थामा सरकारका कर्मचारीको प्रत्यक्ष संलग्नता देखिएको छ।
त्यस्तै, हाजिरीजवाफजस्तो महत्वपूर्ण र ज्ञानमूलक कार्यक्रममा राजनीतिक दलको प्रत्यक्ष हस्तक्षेप गर्दै पार्टी–विशेषका प्रश्नहरू राखिएको दाबी गरिएको छ। विरोध गर्नेहरूमा नेकपा एमाले तथा निकटस्थ नेता–कार्यकर्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेता–कार्यकर्ता, केही नेकपा माओवादी केन्द्रका नेताहरू तथा कुनै दलमा नलागेका स्वतन्त्र व्यक्ति रहेका छन्।
उता, आयोजक र उनीहरूको छाता संगठन नेपाली काँग्रेसका नेताहरूले भने ती आरोपहरूको खण्डन गरेका छन्। आयोजक टिमका अनुसार कार्यक्रममा केही सैद्धान्तिक राजनीतिक प्रश्नहरू राखिएको स्वीकार गर्दै सबै दल र विषयसम्बन्धी प्रश्नहरू समेटिएको दाबी गरिएको छ।
“विद्यार्थीलाई सामान्य ज्ञानका रूपमा सबै खालको जानकारी आवश्यक हुन्छ भन्ने उद्देश्यले विभिन्न विषयका प्रश्नहरू राखिएका हुन्। त्यो नियोजित वा सामाजिक सञ्जालमा लेखेजस्तो होइन। रेडक्रसले आयोजना गरेको कार्यक्रममा रेडक्रससम्बन्धी प्रश्न राखिएजस्तै, राजनीतिक विषयमा पनि सामान्य राजनीतिक प्रश्नहरू समावेश गरिएको हो। यसलाई अनावश्यक रूपमा राजनीतिकरण गरिएको छ,” आयोजक समितिका सभापति लक्ष्मण कुमार दनुवारले बताए।
